बालेनसँग अन्तर्राष्ट्रिय समुदाय सशंकित, प्रेसमाथि हस्तक्षेपछि पेन्टागनदेखि ब्रसेल्ससम्म चासो

काठमाडौं । ब्रसेल्सका रहेका युरोपेली कुटनीतिज्ञहरुले बालेन सरकारले हिजो साँझ नेपाली प्रेसमाथि गरेको धरपकड र नाङ्गो हस्तक्षेपबारे छलफल गरेका छन् । त्यस्तै, अमेरिकाको पेन्टागनस्थित विदेश मन्त्रालयमा पनि नेपालमा प्रेसमाथि गरिएको नाङ्गो हस्तक्षेप र बलप्रयोगबारे नेपालस्थित नियोगहरुमा जानकारी मागेको बुझिएको छ ।
युरोप मानव अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको जननी मानिन्छ । कुनै पनि युरोपेली मुलुकले मानव अधिकार उल्लंघन र प्र्रेसमाथिको हस्तक्षेप अनि यस्ता बार्बरिक र जंगली युगको कल्पना समेत गर्दैनन् ।
जेनजी आन्दोलनबाट सत्तामा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बालेन सरकारका कार्यशैलीप्रति पश्चिमा देशहरु अमेरिकामा समेत चर्चा र बहस सुरु भएको छ । अमेरिकामा रहेका केही पत्रकारहरुले हिजैदेखि अमेरिकी विदेश कुटनीतिज्ञहरुले ‘तिमीहरुको देशमा के हुँदैछ ?’ भनेर चासो दिइरहेको जनाएका छन् । त्यस्तै, यतिबेला ब्रसेल्सस्थित युरोपको मुख्यालयले पनि नेपालको प्रेसमाथि राज्यपक्षबाट भएको बलप्रयोग र स्वतन्त्र प्रेस विरोधी घटनाको सम्बन्धमा नेपालमा रहेको नियोगहरुलाई जानकारी मागिरहेको बुझिएको छ ।
पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आईएफजे, रिपोटर्स विथआउट बोर्डर्स आदि संस्थाहरुले पनि उत्तिकै चासो दिइरहेका छन् । हिजोको घटनापछि रास्वपा नेतृत्वको वर्तमान सरकार अन्तर्राष्ट्रिय निगरानीमा समेत परेको रुपमा बुझ्न सकिन्छ ।
उता, छिमेकी मुलुक भारतीय मिडियाहरुले प्राथमिकताका साथ समाचार दिइरहेका छन् भने चिनियाँ सञ्चार माध्यममा मात्रै होइन, बेईजिङस्थित विदेश मन्त्रालयमा समेत यो विषय चर्चा हुने सम्भावना रहेको बताइन्छ ।











