नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वित्तीय विवरणमा चमत्कारः नाफा २६ गुणाले बढ्यो, अधिकांश सूचकमा सुधार

१५ कार्तिक २०८३, आईतवार ०८:०७

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा, सञ्चालन नाफा तथा प्रतिसेयर आम्दानीमा ठूलो वृद्धि भएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १८ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा करिब २६ गुणाले बढेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३ अर्ब २७ करोड १६ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको ब्याज आम्दानी ७ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ रहेको छ भने ब्याज खर्च ४ अर्ब १४ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, शुल्क तथा कमिसनबाट प्राप्त खुद आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५६ करोड ४८ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ५९ करोड २१ लाख रुपैयाँ पुगेको छ । ब्याज तथा शुल्क कमिसनबाट हुने आम्दानीमा आएको वृद्धिले बैंकको नियमित आम्दानीलाई थप बलियो बनाएको छ ।

बैंकको कुल सञ्चालन आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ३१ करोड ६ लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४ अर्ब ३४ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा गत वर्षको १५ करोड २ लाख रुपैयाँबाट बढेर १ अर्ब ६९ करोड ७ लाख रुपैयाँ पुगेको छ । करअघिको नाफा पनि ९ करोड ८७ लाख रुपैयाँबाट बढेर १ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

नाफामा आएको सुधारसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा वार्षिकीकृत प्रतिसेयर आम्दानी ५३ पैसा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १३ रुपैयाँ ८५ पैसा पुगेको छ । यसले बैंकको प्रतिकित्ता सेयरबाट हुने आम्दानीमा उल्लेखनीय सुधार आएको देखाउँछ ।

यता, बैंकले निक्षेप संकलन र कर्जा प्रवाहलाई पनि निरन्तर विस्तार गरेको छ । असोज मसान्तसम्म बैंकले ग्राहकबाट ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ रहेको थियो । यस अवधिमा बैंकको निक्षेप संकलनमा १४ अर्ब रुपैयाँभन्दा बढी वृद्धि भएको छ ।

त्यस्तै, बैंकले ग्राहकलाई ३ खर्ब २२ अर्ब ४१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ रहेको कर्जा लगानी पनि बढेको छ ।

बैंकको कुल सम्पत्ति पनि बढेर ६ खर्ब २९ अर्ब ७ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो सम्पत्ति ६ खर्ब १३ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ रहेको थियो । बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३९ अर्ब ५९ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, सञ्चित मुनाफा ऋणात्मक ५ अर्ब १६ करोड १६ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*