स्ट्याण्डर्ड चार्टर्ड बैंकले कमायो ६७ करोड १४ लाख नाफा

१५ कार्तिक २०८३, आईतवार ०९:१८

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको असोज मसान्तसम्मको (प्रथम त्रैमास) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार समीक्षा अवधिमा बैंकले ६७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ६९ करोड २१ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा नाफामा करिब ३ प्रतिशतको सामान्य गिरावट आएको छ।

बैंकको खुद ब्याज आम्दानी चालू आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब २ करोड ९८ लाख रुपैयाँ पुगेको छ जुन गत वर्षको सोही अवधिमा १ अर्ब ७ करोड २४ लाख रुपैयाँ रहेको थियो। यसैगरी कुल सञ्चालन आम्दानी १ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ कायम भएको छ। सञ्चालन नाफा भने इम्पेयरमेन्ट चार्ज रिभर्सलमा आएको सुधारका कारण गत वर्षको ९८ करोड ९३ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड २३ लाख रुपैयाँ पुगेको छ।

व्यावसायिक आकारको दृष्टिले बैंकको कुल सम्पत्ति १ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। बैंकले ग्राहकबाट सङ्कलन गरेको कुल निक्षेप १ खर्ब ४९ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने ग्राहकलाई प्रवाह गरिएको कुल कर्जा ६७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको अन्त्यको तुलनामा बैंकको निक्षेप र कर्जा प्रवाह दुवैमा सकारात्मक वृद्धि देखिएको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २७.५७ रुपैयाँबाट घटेर २६.७४ रुपैयाँ कायम भएको छ भने निष्क्रिय कर्जा अनुपात १.७१ प्रतिशतबाट बढेर १.८३ प्रतिशत रहेको छ। चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ११ अर्ब रुपैयाँ सञ्चित रहेको छ। असोज मसान्तसम्म आइपुग्दा वितरणयोग्य मुनाफा २ अर्ब ४१ करोड रुपैयाँबाट २ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*