तीन महिनामा नेपाल एसबीआई बैंकको नाफामा ५५ करोड २२ लाख, अन्य सूचक कस्तो ?

१५ कार्तिक २०८३, आईतवार ०९:११

काठमाडौं । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वित्तीय प्रगतिलाई निरन्तरता दिएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा, निक्षेप संकलन, कर्जा लगानी तथा कुल सम्पत्तिमा वृद्धि भएको हो ।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ५० करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा नाफा बढाएर ५५ करोड २२ लाख रुपैयाँ पुर्‍याएको हो । बैंकको खुद नाफा १०.१० प्रतिशतले वृद्धि भएको छ ।

बैंकको ब्याज आम्दानीतर्फ भने केही दबाब देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २६ करोड ९७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी थियो ।

बैंकले समीक्षा अवधिमा शुल्क तथा कमिसनबाट ३६ करोड ७० लाख रुपैयाँ खुद आम्दानी गरेको छ । त्यस्तै, धितोपत्र तथा अन्य कारोबारबाट ११ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । यी आम्दानीसमेत जोड्दा बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ७६ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन नाफा ७८ करोड ३४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, करअघिको नाफा ७८ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

निक्षेप संकलनमा बैंकले उल्लेख्य विस्तार गरेको छ । असोज मसान्तसम्म बैंकले ग्राहकबाट २ खर्ब ३९ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप २ खर्ब १२ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, बैंकले ग्राहकलाई १ खर्ब ५० अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा १ खर्ब ४६ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, पहिलो त्रैमासको अन्त्यमा खराब कर्जाको अनुपात ३.१९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३.०१ प्रतिशत थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*