शाइन रेसुङ्गा बैंकको वित्तीय विवरण सार्वजनिक, कस्ता छन् प्रमुख सूचक?

१५ कार्तिक २०८३, आईतवार १०:०२

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (असोज मसान्तसम्मको) अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा बैंकले १९ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालू वर्षको नाफामा सामान्य गिरावट आएको देखिए तापनि बैंकको खुद ब्याज आम्दानी र व्यवसाय विस्तारमा सकारात्मक सुधार देखिएको छ।

चालू आवको पहिलो तीन महिनामा बैंकको खुद ब्याज आम्दानी बढेर ६६ करोड २५ लाख रुपैयाँ पुगेको छ जुन गत वर्षको सोही अवधिमा ६४ करोड ५२ लाख रुपैयाँ रहेको थियो। यसैगरी बैंकको सञ्चालन मुनाफा २८ करोड २३ लाख रुपैयाँ रहेको छ।

व्यवसाय विस्तारतर्फ बैंकले निक्षेप संकलन र कर्जा लगानी दुवैमा वृद्धि गरेको छ। असोज मसान्तसम्ममा बैंकले कुल निक्षेप ७९ अर्ब ११ करोड ७२ लाख रुपैयाँ पुर्‍याएको छ जुन अघिल्लो वर्षको अन्त्यमा ७७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ रहेको थियो। त्यसैगरी ग्राहकहरूलाई प्रवाह गरिएको कुल कर्जा ६५ अर्ब ३१ करोड १२ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्षको अन्त्यमा ६३ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति बढेर ८८ अर्ब ४८ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी १४.८५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४३.३५ रुपैयाँ कायम भएको छ। बैंकको निष्क्रिय कर्जा (खराब कर्जा) ४.७१ प्रतिशत पुगेको छ जुन गत वर्षको सोही अवधिमा ४.६१ प्रतिशत रहेको थियो। चुक्ता पूँजी ५ अर्ब ३२ करोड ३२ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा २ अर्ब २५ करोड सञ्चित छ। वितरणयोग्य मुनाफा ६९ करोड ६४ लाखबाट ५ करोड ५४ लाख रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*