तीन महिनामा विकास बैंकको नाफा १ अर्ब ६७ करोडः लुम्बिनीलाई पछ्याउँदै मुक्तिनाथ, ग्रोथमा अघि ज्योति

१५ कार्तिक २०८३, आईतवार १०:३७

काठमाडौँ ।  राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा आठ राष्ट्रियस्तरका विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ११३.२३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्म यी बैंकहरूले कुल ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएका थिए ।

नाफाका आधारमा लुम्बिनी विकास बैंक पहिलो स्थानमा रहेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ घाटामा रहेको बैंक यसपटक उल्लेख्य सुधार गर्दै नाफामा फर्किएको हो ।

त्यसैगरी मुक्तिनाथ विकास बैंकले ३२ करोड २४ लाख २४ हजार रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थान कायम गरेको छ । बैंकको नाफा गत वर्षको २२ करोड ४७ लाख ७४ हजार रुपैयाँबाट ४३.४४ प्रतिशतले बढेको हो ।

गरिमा विकास बैंकले २४ करोड १ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपि, बैंकको नाफा गत वर्षको २५ करोड ५ लाख ७५ हजार रुपैयाँको तुलनामा ४.१७ प्रतिशतले घटेको छ । कामना सेवा विकास बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गर्दै १६.९९ प्रतिशतको वृद्धि हासिल गरेको छ । गत वर्ष १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको बैंकले यसपटक आफ्नो नाफा बढाएको हो ।

त्यस्तै, ज्योति विकास बैंकको नाफामा सबैभन्दा उच्च प्रतिशतको वृद्धि देखिएको छ । बैंकले गत वर्षको ७ करोड ३ लाख ३४ हजार रुपैयाँबाट नाफा बढाएर २० करोड १ लाख ६१ हजार रुपैयाँ पुर्‍याएको छ । यो १८४.५९ प्रतिशतको वृद्धि हो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १९ करोड ७६ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । तर, गत वर्षको २० करोड ३० लाख ४१ हजार रुपैयाँको तुलनामा बैंकको नाफा २.६६ प्रतिशतले घटेको छ ।

यसैगरी, महालक्ष्मी विकास बैंकले ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको ९ करोड ७५ लाख १२ हजार रुपैयाँको तुलनामा बैंकको नाफा २१.४९ प्रतिशतले बढेको हो ।

यता, सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा भने उल्लेख्य गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड ३४ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा ८ करोड ८२ लाख ११ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यसपटक ६२.०७ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*