एक महिनाभित्रै सञ्चालनमा आउँदै जालपादेवी केबलकार, ६ अर्ब लगानीमा बन्दैछ एकीकृत पर्यटकीय गन्तव्य

७ मंसिर २०८३, सोमबार १६:३१

काठमाडौं । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक महिनाभित्रै व्यावसायिक सञ्चालनमा आउने भएको छ। आईएमई ग्रुपको लगानीमा निर्माण भइरहेको परियोजना सञ्चालनको अन्तिम तयारीमा पुगेको ग्रुपका अध्यक्ष चन्द्र ढकालले जानकारी दिएका छन्। करिब ६ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको यो परियोजना सञ्चालनमा आएसँगै सुदूरपश्चिमको पर्यटन विकासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।

देशका सातै प्रदेशमा मौलिक पर्यटन पूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत सुदूरपश्चिममा सुरु गरिएको यो परियोजना साकार हुने चरणमा पुगेको भन्दै ढकालले खुसी व्यक्त गरेका छन्। प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि ठूला पूर्वाधारको अभावमा वर्षौँदेखि अपेक्षित विकासको प्रतीक्षामा रहेको सुदूरपश्चिमका लागि जालपादेवी केबलकार महत्वपूर्ण कोसेढुंगा बन्ने उनको विश्वास छ। कर्णाली पुल र चिसापानीको प्राकृतिक सौन्दर्य अवलोकन गर्न अहिले पनि उल्लेख्य संख्यामा आन्तरिक तथा भारतीय पर्यटक पुग्ने गरेका छन्। केबलकार निर्माणको खबरले मात्रै पनि चिसापानी र राजकाँडा क्षेत्रमा पर्यटकको चहलपहल बढ्नुका साथै स्थानीय बासिन्दामा उत्साह थपिएको ढकालले बताएका छन्। केबलकार सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटकीय आकर्षण थप बढ्ने र पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने उनको अपेक्षा छ।

जालपादेवी परियोजनालाई केवल केबलकारमा सीमित नराखी एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको ग्रुपले जनाएको छ। आयोजनाअन्तर्गत तल्लो र माथिल्लो स्टेसनका अधिकांश संरचना निर्माण भइसकेका छन् भने गुरुयोजनाअनुसार स्तरीय होटल, रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, स्काइवाक, पदमार्ग तथा धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिरलगायतका संरचना पनि क्रमशः निर्माण भइरहेका छन्। ३.१ किलोमिटर लामो केबलकारसहितका यी पर्यटकीय पूर्वाधारले चिसापानी र राजकाँडालाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

परियोजनामा थपिँदै जाने पर्यटकीय संरचनाले पर्यटकलाई कम्तीमा एक दिनसम्म यस क्षेत्रमा बस्न प्रेरित गर्ने र त्यसबाट स्थानीय अर्थतन्त्रसमेत चलायमान हुने ढकालको भनाइ छ। पर्यटकको बसाइ लम्बिँदा स्थानीय यातायात, होटल तथा रेस्टुरेन्ट, साना व्यवसाय र कृषि उपजले बजार पाउनेछन्। यसले स्थानीय उत्पादनको खपत बढाउनुका साथै गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयको जीवनस्तर उकास्नेदेखि राज्यको राजस्व वृद्धि गर्नेसम्मका क्षेत्रमा परियोजनाले सकारात्मक योगदान पुर्‍याउने ढकालको विश्वास छ।

परियोजना निर्माणको यो चरणसम्म आइपुग्न स्थानीय बासिन्दाको साथ र सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै ढकालले स्थानीय, प्रदेश तथा संघीय सरकार, विभिन्न सरोकारवाला निकाय, सूर्य थापालगायत स्थानीय साझेदार तथा अहोरात्र खटिएका इन्जिनियर र परियोजना टोलीप्रति आभार व्यक्त गरेका छन्। सञ्चालनको अन्तिम तयारीमा रहेको परियोजनाका पछिल्ला तस्बिर सार्वजनिक गर्दै उनले जालपादेवी केबलकारले स्थानीयको जीवनस्तर र अर्थतन्त्र उकास्नुका साथै समग्र सुदूरपश्चिम र देशकै गौरवको आयोजना बन्ने विश्वास व्यक्त गरेका छन्।

करिब ६ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको यस परियोजनामा ३.१ किलोमिटर लामो केबलकारसँगै होटल, रेस्टुरेन्ट, स्काइवाक, पार्क, पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*