रिलायबल नेपाल लाइफबाट बाहिरिंदै ग्लोबल आईएमई बैंक, ४६ लाख ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनी ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो नाममा रहेको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँ मूल्य तोकी उक्त शेयर बिक्रीका लागि कम्पनीसमक्ष निवेदन दिएको हो।
कम्पनीले आज मंसिर ८ गते सूचना प्रकाशित गर्दै हाल कायम संस्थापक शेयरधनीलाई उक्त शेयर खरिद गर्ने प्राथमिकता दिएको छ। प्रचलित व्यवस्थाअनुसार संस्थापक समूहको शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले कम्पनीले ३५ दिनको समय दिएर इच्छुक शेयरधनीबाट आवेदन माग गरेको हो।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको कित्ता र रकम खुलाएर आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ। आवेदनका साथ नागरिकता तथा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, आयस्रोत खुल्ने कागजात, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र र कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण पेस गर्नुपर्नेछ।
कम्पनी वा संस्थाका तर्फबाट आवेदन दिँदा दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली र स्थायी लेखा नम्बरसमेत पेस गर्नुपर्नेछ। तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीबाट बिक्री हुन नसकेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।











