लाभांश र मर्जर प्रस्ताव सहित आरएसडीसी लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औँ वार्षिक साधारणसभा आगामी पुस ३ गते बोलाएको छ। संस्थाको मंसिर ६ गते बसेको सञ्चालक समितिको १९३औँ बैठकले गरेको निर्णयअनुसार सभा शुक्रबार बिहान ९ः३० बजे रूपन्देहीको बुटवलस्थित वेस्टर्न एशियन होटलमा बस्नेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ। साथै लेखापरीक्षकको प्रतिवेदनसहित गत आर्थिक वर्षको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने प्रस्ताव पनि सभामा लगिनेछ।
संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि घोषणा गरेको लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले अनुमोदन गर्नेछ। सञ्चालक समितिले चुक्ता पुँजीको ९.४० प्रतिशतका दरले कुल ९ करोड ७२ लाख २ हजार ५५ रुपैयाँ २० पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त रकममा लाभांशबापत लाग्ने करसमेत समावेश छ।
सभाले चालू आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। संस्थाले हालका लेखापरीक्षक पी.एल.आर.जी. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नै पुनः नियुक्त गर्ने प्रस्ताव गरेको छ। कम्पनी ऐन, २०६३ अनुसार उक्त लेखापरीक्षक पुनः नियुक्त हुन योग्य रहेको संस्थाले जनाएको छ।
सभाको विशेष प्रस्तावअन्तर्गत संस्थालाई अन्य वित्तीय संस्थासँग मर्जर गर्ने वा कुनै संस्थालाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ। यसका लागि सञ्चालक समितिबाट गठित मर्जर समितिले गरेका कामकारबाही अनुमोदन गर्ने, नयाँ मर्जर समिति गठन गर्ने तथा मर्जर वा प्राप्तिको प्रक्रियामा आवश्यक पर्ने ड्यु डिलिजेन्स अडिट (डीडीए) गराउन लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्नेलगायतका काम अघि बढाउने प्रस्ताव सभामा पेस हुनेछ।
साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर १८ गते शेयर दाखिल खारेज बन्द गर्ने भएको छ। त्यसैले मंसिर १७ गतेसम्म नेप्सेमा यस कम्पनीको शेयर खरिद गरी कायम रहेका शेयरधनीले मात्र सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।











