बीमा प्राधिकरणमा उजुरीका चाङः असोजसम्म ९४ मुद्दा फर्छ्यौट, २९९ अझै विचाराधीन

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा बीमित र बीमा कम्पनीबीच देखिएका विवाद तथा असन्तुष्टिसम्बन्धी २९९ वटा उजुरी अझै विचाराधीन अवस्थामा रहेका छन् । चालू आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म प्राधिकरणमा रहेका कुल ३९३ वटा उजुरीमध्ये ९४ वटाको मात्र फर्छ्यौट भएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ७४ वटा नयाँ उजुरी दर्ता भएका छन् । तीमध्ये प्राधिकरणको केन्द्रीय कार्यालयमा ५४ वटा र प्रदेश कार्यालयहरूमा २० वटा उजुरी दर्ता भएका हुन् । नयाँ दर्ता भएका उजुरी र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३१९ वटा उजुरी गरी कुल ३९३ वटा उजुरीमाथि प्राधिकरणले कारबाही प्रक्रिया अघि बढाएको थियो ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा भने प्राधिकरणमा २०६ वटा नयाँ उजुरी दर्ता भएका थिए । तीमध्ये केन्द्रीय कार्यालयमा १४९ वटा र प्रदेश कार्यालयहरूमा ५७ वटा उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको असोज मसान्तसम्म नयाँ उजुरी दर्ता हुने संख्या घटेको देखिएको छ ।
त्यस्तै गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका उजुरीको संख्या पनि यस वर्ष कम रहेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ३९४ वटा उजुरी थिए । नयाँ दर्ता भएका २०६ वटा उजुरीसमेत जोड्दा त्यस अवधिमा प्राधिकरणमा कुल ६०० वटा उजुरी कारबाहीका क्रममा रहेका थिए । चालू आर्थिक वर्षको सोही अवधिमा भने यस्तो संख्या ३९३ रहेको छ ।

प्राधिकरणले असोज मसान्तसम्म फछ्र्यौट गरेका ९४ वटा उजुरीमध्ये ७५ वटा फैसलामार्फत टुंग्याएको छ भने १९ वटा उजुरीका दुवै पक्षबीचको आपसी सहमति र सम्झौतामार्फत समाधान गरेको छ । यसले अधिकांश उजुरीको निरूपण आपसी सहमतिभन्दा कानुनी प्रक्रिया तथा फैसलामार्फत भएको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म भने प्राधिकरणले २८१ वटा उजुरी फछ्र्यौट गरेको थियो । तीमध्ये २०४ वटा फैसला र ७७ वटा आपसी सहमतिमार्फत टुंग्याइएको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको समीक्षा अवधिमा उजुरी फर्छ्यौट संख्या घटेको छ ।
यस वर्ष असोज मसान्तसम्म ९४ वटा उजुरी फछ्र्यौट भए पनि २९९ वटा अझै बाँकी छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३१९ वटा उजुरी विचाराधीन अवस्थामा थिए । यसरी हेर्दा विचाराधीन उजुरीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको भए पनि चालू आर्थिक वर्षमा फर्छ्यौट हुन बाँकी उजुरीको संख्या अझै उल्लेख्य छ ।
बीमा दाबी भुक्तानीमा ढिलाइ हुनु, बीमा कम्पनीले दाबी अस्वीकार गर्नु तथा कम्पनीबाट प्राप्त सेवाप्रति असन्तुष्टि हुनुलगायतका कारण बीमितहरू प्राधिकरणमा उजुरी गर्न पुग्ने गरेका छन् । बीमितले आफ्नो दाबीअनुसारको भुक्तानी नपाएको वा बीमा कम्पनीबाट उचित सेवा नपाएको अवस्थामा नियामक निकायमा उजुरी गर्ने व्यवस्था छ । बीमितको हकहित संरक्षण र बीमा कम्पनीलाई थप जवाफदेही बनाउन यस्ता उजुरीको समयमै निरूपण गर्नु पर्नेमा नेपाल बीमा प्राधिकरणले भने उजुरी फर्छ्यौटको गति बढाउन नसकेको देखिन्छ ।











