प्रभु बैंकद्वारा ऋणीलाई थाहै नदिई करोडौंको जग्गा लिलामी, मिलेमतोको आशंका

काठमाडौँ । मोरङको रङ्गेली नगरपालिका–७ स्थित प्रभु बैंकको शाखा कार्यालयले ऋणीको करोडौँ मूल्य पर्ने जग्गा ऋणीलाई सूचना समेत नदिई कौडीको मूल्यमा बिक्री गरिएको पाइएको छ । ऋणी विक्रम मण्डलले बैंकबाट लिएको १ करोड ९० लाख रुपैयाँ ऋण असुलीका लागि लिलामी प्रक्रिया अघि बढाउँदा ९ देखि १० करोड रुपैयाँसम्म बजार मूल्य रहेको जग्गा जम्मा २ करोड ५ लाख रुपैयाँमा बिक्री गरी अर्कैको नाममा नामसारी गरिएको भेटिएको छ । पीडितले बैंकका कर्मचारी र सिईओ समेतको मिलेमतोमा आफ्नो सम्पत्ति कब्जा गरिएको भन्दै छानविनको माग गरेका छन् ।
पीडित विक्रम मण्डलका अनुसार सिद्धार्थ हस्पिटल सञ्चालन गर्ने उद्देश्यले प्रभु बैंकबाट १ करोड ९० लाख रुपैयाँ बराबरको ऋण लिएका थिए । उक्त रकम नगदका रूपमा नभई १ करोड ३० लाख रुपैयाँका उपकरण खरिद गरेर उपलब्ध गराइएको थियो । बाँकी रकम अन्य खर्च तथा नगदका रूपमा लिएका थिए । अस्पताल सञ्चालनका लागि उक्त रकम अपुग भएपछि उनले बैंकसँग थप ऋण उपलब्ध गराउन आग्रह गर्दै अस्पताल सञ्चालनको योजना प्रस्तुत गरेका थिए । तर बैंकले थप ऋण उपलब्ध गराउने आश्वासन दिए पनि आजभोलि भन्दै टारिरहँदा अस्पताल सञ्चालनको योजना नै प्रभावित बन्न पुग्यो ।
त्यसमाथि कोरोना महामारीका समयमा निजी अस्पताल सञ्चालन गर्नु थप चुनौतीपूर्ण बन्यो । अपेक्षाअनुसार अस्पताल सञ्चालन हुन नसक्दा ऋणको दायित्व बढ्दै गयो । बैंकको ऋण चुक्ता गर्ने उद्देश्यले मण्डलले अन्ततः आफ्नो जग्गा बिक्री गरेर बैंकको रकम तिर्ने निर्णय गरे । सुरुवातमा बैंकले पनि जग्गा बिक्री गरेर ऋण चुक्ता गर्ने विषयमा सहमति जनाएको पीडित पक्षको भनाइ छ । तर आफूले जग्गा बिक्री गरेर बैंकको ऋण तिर्ने तयारी गरिरहेका बेला बैंकले कुनै जानकारी नदिई जग्गा लिलामीको सूचना प्रकाशित गरेर लिलाम गरिदिएको पाइएको छ ।
बैंकको उक्त कदमविरुद्ध न्याय खोज्दै मण्डल जिल्ला अदालत पुगे । जिल्ला अदालतबाट न्याय नपाएको भन्दै उनले उच्च अदालतमा समेत मुद्दा दायर गरे । तर जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी हुँदा मुद्दासम्बन्धी फाइल जलेपछि न्यायिक प्रक्रिया नै प्रभावित हुन पुग्यो । फाइल जलेसँगै अब सुरुदेखि नै प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको पीडित पक्षको भनाइ छ । अदालतमा मुद्दा विचाराधीन रहेको र आफू न्यायिक प्रक्रियामै रहेको अवस्थामा बैंकले भने जग्गा बिक्री प्रक्रिया अघि बढाएपछि आश्चर्यमा परेका छन् ।
पीडितलाई जग्गा बिक्रीबारे जानकारी नै नदिई बैंकले उक्त जग्गा खेमनारायण शाहको नाममा २ करोड ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ । पीडितका अनुसार उक्त जग्गाको बजार मूल्य ९ देखि १० करोड रुपैयाँसम्म पर्छ । यसरी करोडौँ मूल्य पर्ने जग्गा जम्मा २ करोड ५ लाख रुपैयाँमा बिक्री गरिनुले लिलामी प्रक्रियाको निष्पक्षता, मूल्यांकनको आधार र बैंकको भूमिकामाथि नै प्रश्न उठाएको छ । वास्तविक बजार मूल्यभन्दा निकै कम रकममा जग्गा बिक्री भएको भन्दै पीडित पक्षले यसमा मिलेमतो भएको आशंकासमेत व्यक्त गरेको छ ।
पीडित पक्षले बैंकसँग पटक–पटक ऋण चुक्ता गर्ने प्रस्ताव राखेको तर बैंकले रकम बुझ्ने विषयमा समेत आनाकानी गरेको आरोप लगाएको छ । आफूहरू बैंकको ऋण तिर्न तयार हुँदाहुँदै पनि ऋण असुलीलाई सहजीकरण गर्नुको सट्टा जग्गा लिलामी गरेर कम मूल्यमा बिक्री गरिएको उनीहरूको गुनासो छ । बैंकसँग छलफल गरेर समस्या समाधान गर्ने उद्देश्यले पटक–पटक पुगे पनि सुनुवाइ नभएको र उल्टै आफ्नो सम्पत्ति गुमाउनुपरेको पीडित पक्षको भनाइ छ । हालै सार्वजनिक भएको एक भिडियोमा प्रभु बैंकका कर्मचारीले आफ्ना मातहतको कर्मचारीबाट त्रुटी भएको समेत स्वीकार गरेका छन् ।
बैंकसँग ऋण तथा जग्गा लिलामीको विषयमा छलफलका क्रममा बैंकले विजय मण्डल नाम गरेका व्यक्तिलाई बिचौलियाका रूपमा बोलाएको थियो । त्यसपछि बैंकमा पुगेकी पीडितकी बहिनीमाथि हातपात तथा कुटपिट भएको उनीहरूको आरोप छ । बैंकसँग आफ्नो सम्पत्ति बिक्रीबारे जवाफ माग्न पुगेकी महिलामाथि सरोकार नै नभएका व्यक्तिहरूबाट हातपात गरेको गुनासो पिडित पक्षको भनाई छ । सो घटनापछि ऋणीको जग्गा नियोजित रुपमा सित्तैमा हत्याउने गिरोहसँग बैंकका कर्मचारीहरुको मिलेमतो देखिएको छ ।
ऋण असुली गर्नु बैंकको कानुनी अधिकार भए पनि त्यसका नाममा ऋणीको सम्पत्ति बिक्री गर्दा प्रक्रिया पारदर्शी, निष्पक्ष र कानुनसम्मत हुनुपर्ने हुन्छ । अझै ऋण तिर्न तयार रहेको बताउने ऋणीको जग्गा बिक्री गर्दा सम्बन्धित पक्षलाई जानकारी नदिएको आरोप, ९ देखि १० करोड रुपैयाँ मूल्य पर्ने जग्गा २ करोड ५ लाख रुपैयाँमा बिक्री भएको दाबी र बैंक परिसरमै महिलामाथि कुटपिट भएको आरोपले प्रभु बैंकको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ । लिलामी प्रक्रियामा मिलेमतो भएको आशंका पीडित पक्षको छ ।
यस विषयमा प्रभु बैंक रङ्गेली शाखाका प्रबन्धक प्रसन्न भण्डारीसँग सम्पर्क गर्दा उनले आफू यसबारे बोल्न नमिल्ने भन्दै प्रदेश प्रमुखसँग जानकारी लिन आग्रह गरे । त्यसपछि प्रदेश सूचना अधिकारी बद्री कटवालसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा सुरुमा उनले फोन उठाएनन् भने पछि मोबाइल नै अफ गरेर सम्पर्कबाहिर रहे । त्यस्तै, प्रभु बैंकको केन्द्रीय कार्यालयका सूचना अधिकारी रविन्द्र ढकालले पनि यस विषयमा प्रदेशमै बुझ्न भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिए । सो सम्बन्धमा बैंकको सिइओ सुमन शर्मासँग जिज्ञशा राख्दा कुनै जवाफ दिएनन् ।











