पुँँजी बजारमा दोहोरो अकंको सुधारः बैंकिङ समूहमा चमक, अझै के को छ डर ?

८ मंसिर २०८३, मंगलवार १५:०५

काठमाडौँ । हिजो सामान्य सुधार देखिएको शेयर बजारमा आज भने दोहोरो अंकको वृद्धि भएको छ । तर, बजारमा देखिएको वृद्धिले लगानीकर्ताको मनोबल उकास्न सकेको छैन । बजारमा निरन्तरको उतारचढाव र अनिश्चितताका कारण लगानीकर्ता अझै त्रासमा छन् । न बजारले अपेक्षाअनुसार गति लिन सकेको छ, न त स्थिरताको संकेत नै देखिएको छ । सूचकमा आएको गिरावटसँगै लगानीको मूल्यसमेत खुम्चिँदा साना तथा ठूला लगानीकर्ता निराश बनेका छन् । सुधारको अपेक्षासहित बजारमा प्रवेश गरेका लगानीकर्ता आफ्नो लगानी सुरक्षित हुनेमा ढुक्क हुन सकेका छैनन् भने नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाइरहेका छन् । पुराना लगानीकर्ता पनि थप लगानी गर्ने कि भएको पोर्टफोलियो जोगाउने भन्ने अन्योलमा छन् ।

चाडपर्वपछि बजारमा तरलता बढ्ने, आर्थिक गतिविधि चलायमान हुने र त्यसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने अपेक्षा गरिएको थियो । यही अनुमानका आधारमा बजारमा प्रवेश गरेका लगानीकर्ताको अपेक्षाविपरीत बजारले निरन्तर ओरालो यात्रा तय गरेपछि उत्साह खस्किएको हो । अर्कोतर्फ, शेयर बजारलाई गति दिन सहयोगी मानिएका आर्थिक तथा नीतिगत सूचक सकारात्मक हुँदाहुँदै पनि लगानीकर्ताको विश्वास फर्किन सकेको छैन । अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र नेपाल राष्ट्र बैंकबाट पूँजी बजारलाई सहज बनाउने नीतिगत प्रयास भइरहेका छन् भने बैंक तथा वित्तीय संस्थाको ब्याजदर र कर्जाको लागतसमेत न्यून अवस्थामा छ । अर्थतन्त्रका सूचकमा सुधारका संकेत देखिए पनि त्यसको प्रभाव शेयर बजारमा पर्न सकेको छैन । यसले बजारमा माग र कारोबार दुवै अपेक्षित रूपमा बढ्न नसकेको देखिन्छ ।

लगानीकर्ताको मनोबल कमजोर हुनुमा सम्पत्ति शुद्धीकरणसम्बन्धी सरकारी अनुसन्धान, सूचीकृत कम्पनीको कमजोर वित्तीय अवस्था र अपेक्षाअनुसार लाभांश नपाउनुलाई पनि प्रमुख कारणका रूपमा हेरिएको छ । सरकारले अवैध सम्पत्ति तथा त्यसको स्रोत पहिचान गर्ने अभियान तीव्र बनाएपछि पूँजी बजारमा लगानीको स्रोतलाई लिएर लगानीकर्तामा चासो र मनोवैज्ञानिक त्रास बढेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले समेत शेयर बजारमा स्वच्छ लगानीलाई प्राथमिकता दिने विषयमा अभिव्यक्ति दिएपछि केही ठूला लगानीकर्ता कारोबारमा सतर्क देखिएका छन् ।

त्यस्तै, कम्पनीहरूको वित्तीय विवरण र लाभांश घोषणाले अपेक्षित प्रतिफल दिन नसक्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका छन् । कम्पनीको नाफा, प्रतिशेयर आम्दानी, नेटवर्थ, लाभांश क्षमता तथा भविष्यको व्यावसायिक सम्भावनालाई आधार बनाएर लगानी गर्नेहरू समेत अहिले निर्णय लिन हिचकिचाइरहेका छन् । यसरी नीतिगत सहजीकरण र आर्थिक सूचकमा सुधारका बाबजुद लगानीकर्ताको विश्वास फर्किन नसक्दा शेयर बजारले अपेक्षित गति लिन सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.३९ अकंले बढेर २६३८.९५ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको १ करोड ४६ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन बैंकिङ समूहको शेयर मूल्य सर्वाधिक बढेको छ । आज वाणिज्य बैंकको १.२४ प्रतिशत, विकास बैंकको १.०४ प्रतिशतले शेयर मूल्य बढेको हो । २ उपसूचक मात्रै राताम्य रहेका छन् ।

मंगलबार १६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*