हिमालयन लघुवित्तमा ३० जना कर्मचारी माग, एसईई पास गरेकालाई अवसर

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक (फिल्ड सहायक) पदमा ३० जना कर्मचारी माग गरेको छ। राष्ट्रियस्तरको कार्यक्षेत्र भएको हिमालयन लघुवित्तले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
यसका लागि न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ भने मोटरसाइकलको लाइसेन्स भएको र आफ्नै सवारी साधन समेत भएकोलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ। उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ।
तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले निवेदनको साथमा बायोडाटा, हालसालै खिचेको फोटो र नागरिकताको प्रतिलिपिको साथै अनुभव भएमा अनुभव खुल्ने पत्रको प्रतिलिपि सहित आगामी १५ दिनभित्र कम्पनीको वेबसाइटमार्फत वा सिधै कम्पनीको पायक पर्ने शाखा वा चावहिलस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नछ।











