नबिल ग्रोथ फण्डको ८ करोड ५० लाख इकाई आजदेखि बिक्री खुला

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने नबिल ग्रोथ फण्डको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ। फण्डले प्रतिइकाई १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरेको हो।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक र नबिल बैंक कोष प्रवद्र्धक रहेको यस फण्डको कुल आकार १० करोड इकाई रहेको छ। कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ।
त्यसमध्ये कोष प्रवद्र्धक नबिल बैंकका लागि १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङका लागि १ प्रतिशत अर्थात् १० लाख इकाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो।
यस फण्डमा लगानी गर्न इच्छुकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम आवेदनका लागि १ हजार रुपैयाँ र अधिकतम आवेदनका लागि १० करोड रुपैयाँ आवश्यक पर्नेछ।
इकाई खरिदका लागि आज मंसिर ९ गतेदेखि आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा मंसिर १४ गते बैंकिङ समयपछि बन्द हुनेछ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्वा प्रणाली वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर प्रणालीबाट आवेदन दिन सक्नेछन्।











