निजी अस्पतालमा विपन्न तथा असहाय बिरामीले १० प्रतिशत शय्यामा निःशुल्क उपचार पाउने व्यवस्था कार्यान्वयन गरिने

काठमाडौं । निजी अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई निःशुल्क उपचार दिने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र निजी स्वास्थ्य संस्था संघ, नेपालबीच सम्झौता भएको छ।
मंसिर ८ गते स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीको उपस्थितिमा दुवै पक्षबीच यस विषयमा छलफल भई सम्झौता सम्पन्न भएको हो।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने र स्वास्थ्य सेवामा समान पहुँच हुने अधिकार सुनिश्चित गरेको छ। त्यस्तै स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार अस्पतालहरूले आफ्नो कुल शय्याको १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याएर निःशुल्क उपचार उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
तर उक्त व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र लक्षित वर्गले सहज रूपमा सेवा पाउने वातावरण बनाउन मन्त्रालय र निजी स्वास्थ्य संस्था संघबीच सहकार्य गर्ने सहमति भएको हो। यस सम्झौताबाट निजी अस्पतालमा विपन्न तथा असहाय बिरामीले पाउने निःशुल्क उपचार सेवा थप व्यवस्थित र पारदर्शी हुने अपेक्षा गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।











