नाडेप लघुवित्तको भाखा नाघेको कर्जा नियन्त्रणमा जोड, पोखरामा शाखा प्रमुखलाई तालिम

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले भाखा नाघेको कर्जा व्यवस्थापन तथा नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले पोखरामा तालिम तथा समीक्षा गोष्ठी सम्पन्न गरेको छ।
संस्थाले मंसिर ८ गते आयोजना गरेको गोष्ठीमा पोखरा इलाका कार्यालयअन्तर्गतका ११ वटै शाखाका प्रमुखहरूको सहभागिता रहेको कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी दिए।
कार्यक्रममा शाखा प्रमुखहरूले कात्तिक मसान्तसम्मको कार्यप्रगति प्रस्तुत गरेका थिए। सो अवसरमा निष्क्रिय कर्जाको अवस्था, कर्जा असुलीमा देखिएका समस्या तथा व्यावसायिक चुनौतीबारे समीक्षा र छलफल गरिएको थियो।
गोष्ठीअन्तर्गत आयोजित तालिममा भाखा नाघेको कर्जा व्यवस्थापन तथा नियन्त्रण, शाखा प्रमुखहरूको भूमिका र जिम्मेवारी, प्रभावकारी ग्राहक सम्बन्ध स्थापना, कर्जा विश्लेषण तथा उपयुक्त परियोजना छनोट गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको थियो।
तालिममा संस्थाका वरिष्ठ प्रमुख व्यवस्थापक उमेश कुर्मी, प्रमुख व्यवस्थापक बाबुराम सुवेदी, वरिष्ठ अधिकृत हरिबहादुर पण्डित तथा पोखरा इलाका प्रमुख बलराम पौडेलले सहजीकरण गरेका थिए।
धादिङको धुनिबेँसी नगरपालिका–६, धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्तले हाल देशका ५६ जिल्लामा ८८ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। संस्थाले कात्तिक मसान्तसम्म ७६ हजार २७९ घरपरिवारमा वित्तीय सेवा विस्तार गरेको जनाएको छ।
उक्त अवधिसम्म संस्थाको लगानीमा रहेको कर्जा ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने ग्राहक सदस्यहरूबाट २ अर्ब ४४ करोड रुपैयाँ बचत परिचालन गरेको छ।











