युरेनियमको खानीमाथि रेलमार्ग बनाउने नेपाल र भारतबीच सहमति, बालेन आफैं फसे कि फसाइयो ?

काठमाडौं । यही मंसिर ७ गते नेपाल र भारतबीच भएको सहमतिको बुँदा नं १२ मा रक्सौल काठमाडौं रेलमार्गको डीपीआर स्वीकृत गर्न दुवै देशहरू सहमत भएको उल्लेख छ । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको २४ बुँदे द्धिपक्षीय सहमतिमा उल्लेखित विषयले विश्वकै दुर्लभ खनिज जोखिममा पार्ने देखिएको छ ।
भारतीय कम्पनी कोन्कान रेलवे कर्पोरेशन लि. ले तयार गरेको रक्सौल–काठमाडौं रेलमार्गको अलाइनमेन्ट अर्थात रेखाङ्कन मध्ये नेपालको मकवानपुर जिल्लास्थित तीनभगालेमा रहेको युरेनियम खानीमाथिबाट काठमाडौंतर्फ लैजाने उल्लेख छ । सोझा नेपालीलाई अनुदानमा रेलमार्ग बनाइदिने भन्दै भारतले उक्त रेलमार्गको विस्तृत अध्ययन गरेको थियो । तत्कालीन केपी ओलीको पालामा प्रस्ताव गरिएको रक्सौल–काठमाडौं रेलमार्गको डीपीआर बनाउन २०७८ साल असोजमा सम्झौता भई काम अघि बढेको थियो । रक्सौलबाट वीरगन्ज–बाराको निजगढबाट पूर्वतर्फ मकवानपुरको धियाल हुँदै उक्त रेलमार्ग काठमाडौं आउने छ । निजगढबाट सिधा काठमाडौं जोड्न सकिने भए तापनि भारतले योजनाबद्ध युरेनियम कब्जा गर्ने गलत मनसाय लिई करिब ३० किमी पूर्वतर्फ लगेर फेरि पश्चिम ल्याउने गरी रेखाङ्कन गरेको छ ।
खानी तथा भू–गर्भ विभागले २०७६ सालमा गरेको अध्ययनको प्रतिवेदनमा २५ वर्ग किमी क्षेत्रमा तीनभगाले, धियाल क्षेत्रमा १५ हजार मेट्रिक टन युरेनियम युक्त चट्टान रहेको उल्लेख छ । सो युरेनियम एक हजार चार सय मिटर लामो तथा २.२ मिटर बाक्लो रहेको उल्लेख छ । सो युरेनियम जमिनको भित्री तहसम्म नरहेको र बाहिरबाट सजिलै निकाल्ने सकिने अवस्थामा रहेको छ । खानी विभाग स्रोतका अनुसार करिब १००० वटा ट्रकमा लोड गरेर सजिलै लैजान सकिने अवस्थामा उक्त युरेनियम रहेको छ ।

युरेनियमको खानीमाथिबाट रेल बनाउन भारतले प्रस्ताव गरेपछि विगत लामो समयदेखि विस्तृत अध्ययन प्रतिवेदन रोकिएको हो । रेल विभागले स्रोतले उक्त स्थानमा रेलमार्ग बनाउने सम्बन्धमा खानी विभागबाट स्वीकृत लिनुपर्ने भनी २०८० सालमा नै भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित रुपमा जानकारी गराएको थियो । तर सरकारले सो प्रक्रिया समेत पुरा नगरी खानी विभागबाट कुनै स्वीकृत नलिई युरेनियममाथि नै रेल बनाउने गरी भारतीय कम्पनी कोन्कान रेलवेले तयार पारेको विस्तृत प्रतिवेदन स्वीकृत गरिएको हो ।
डीपीआर तयार गर्ने कोन्कान रेलवे कर्पोरेशन लि. पूर्ण भारत सरकारको स्वामित्व भएको कम्पनी हो । सो कम्पनीमा ६२.४४ प्रतिशत भारतको रेल मन्त्रालयको शेयर रहेको छ । त्यस्तै, महाराष्ट्र प्रदेश सरकारको १६.८६ प्रतिशत, कर्नाटक राज्यको ११.५ प्रतिशत, केरला प्रदेश र गोवा प्रदेश सरकारको ४.६ प्रतिशत शेयर रहेको छ । २०८० सालमा तत्कालीन प्रचण्ड नेतृत्वको पालामा तयार भएको सो प्रतिवेदन हालसम्म पनि पास भएको थिएन । अहिले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको क्रममा स्वीकृत गरिएको हो ।
विश्वकै दुर्लभ खनिज युरेनियमको खानीमाथि रेल निर्माण गर्ने विस्तृत अध्ययन प्रतिवेदनको सामान्य अध्ययन समेत नगरी हचुवाको भरमा पास गरिदिएको भेटिएपछि प्रधानमन्त्री बालेनको टिम तथा प्रधानमन्त्री कार्यालयको क्षमतामाथि गम्भीर प्रश्न चिन्ह खडा हुन आएको छ । अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण हुने गरी यति ठूलो विषयमा प्रधानमन्त्री बालेन जानाजान आफैं फसे कि सचिवालय र भौतिक मन्त्रालयका कारण फसाइयो ? आश्चर्यको विषय बनेको छ । छानविन सुरु गर्लान् त ? प्रश्न पनि उठेको छ ।











