डिजाइन चोरीको विवादमा फस्यो बीवाईडी, युरोपभर टि७ को बिक्रीमा रोक

काठमाडौँ । नेदरल्यान्ड्सको हेगस्थित एक जिल्ला अदालतले चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीको एसयूभी ‘टि७’ को आयात, उत्पादन तथा बिक्रीमा युरोपेली संघ (ईयू) भर प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेको छ। बेलायती अटो निर्माता ज्यागुअर ल्यान्ड रोभर (जेएलआर) को चर्चित ‘डिफेन्डर ११०’ को बाह्य डिजाइन नक्कल गरेको आरोपमा अदालतले यस्तो आदेश दिएको हो।
प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीशले बीवाईडीको टि७ ले जेएलआरको ईयूमा दर्ता रहेको डिजाइन अधिकार उल्लंघन गरेको ठहर गर्दै अन्तरिम प्रतिबन्ध लगाएका हुन्। अदालतको आदेशमा जेएलआरको डिजाइनका विशिष्ट र सहजै पहिचान गर्न सकिने विशेषताहरू बीवाईडीको एसयूभीमा प्रतिबिम्बित भएको उल्लेख छ।
अदालतले दुवै गाडीको बाह्य बनावटमा उल्लेख्य समानता रहेको निष्कर्ष निकालेको छ। विशेषगरी बडीको अनुपात, साइड विन्डोको बनावट, पछाडिको यात्रु ढोकापछाडि राखिएको विशेष प्यानल तथा गोलाकार कुना भएका ह्विल आर्चहरू लगभग उस्तै देखिएको अदालतको ठहर छ। यी विशेषताले गाडीको समग्र बाह्य स्वरूप निर्धारण गर्ने भन्दै बीवाईडीले दाबी गरेका डिजाइनगत भिन्नता समग्र प्रभाव परिवर्तन गर्न पर्याप्त नरहेको पनि आदेशमा उल्लेख छ। बक्स आकारको छत, ठाडो बनावट, टेलगेटको शैली र वर्गाकार ह्विल आर्चलगायतका पक्षले दुवै एसयूभीबीचको समानतालाई थप प्रस्ट पारेका छन्। जेएलआरले सन् २०१९ सेप्टेम्बरमा बजारमा ल्याएको डिफेन्डर ११० को बाह्य डिजाइन भने सन् २०१८ मै युरोपेली संघमा दर्ता गराएको थियो।
अदालतको आदेश औपचारिक रूपमा तामेल भएको एक सातापछि प्रतिबन्ध कार्यान्वयनमा आउनेछ। त्यसपछि बौद्धिक सम्पत्तिसम्बन्धी मुख्य विवादको अन्तिम टुंगो नलागेसम्म बीवाईडीले ईयूभित्र टि७ को आयात, उत्पादन, बिक्री तथा डेलिभरी गर्न पाउने छैन। हंगेरीमा निर्माणाधीन आफ्नो नयाँ कारखानाबाट समेत उक्त एसयूभी उत्पादन गर्न बीवाईडीलाई रोक लगाइएको छ। आदेश उल्लंघन गरेमा कम्पनीले अधिकतम एक करोड युरोसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।
काठमाडौँ । बीवाईडीले यसै वर्ष जुलाईमा बेलायतस्थित आफ्नो वेबसाइटमार्फत सात सिट क्षमताको टि७ को प्रि–अर्डर खुलाउँदै सन् २०२७ जनवरीदेखि ग्राहकलाई गाडी उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसपछि जेएलआरले बेलायत र युरोपेली संघ दुवै क्षेत्रमा यसको बिक्री रोक्न माग गर्दै मुद्दा दायर गरेको थियो। चीनमा ‘ताई ७’ नामले बिक्री हुने यो एसयूभी बीवाईडीको सहायक ब्रान्ड ‘फ्याङ चेङ बाओ’ को सर्वाधिक लोकप्रिय मोडल हो। सन् २०२५ सेप्टेम्बरमा प्लग–इन हाइब्रिड एसयूभीका रूपमा सार्वजनिक भएको यसमा सन् २०२६ अप्रिलमा ब्याट्री इलेक्ट्रिक भर्सनसमेत थपिएको थियो।
सीएनईभीपोस्टले संकलन गरेको तथ्यांकअनुसार ताई ७ को विश्वव्यापी बिक्री सन् २०२६ जुलाईमा दुई लाख युनिट नाघेको थियो भने अक्टोबरमा तीन लाखको आँकडा पार गरेको थियो। अक्टोबर मसान्तसम्म यसको कुल बिक्री तीन लाख नौ हजार ४५६ युनिट पुगेको तथ्यांक छ। बीवाईडीले अक्टोबरमै उज्बेकिस्तानमा समेत ‘बीवाईडी टीआई ७’ नामबाट पाँच सिटे अल ह्विल ड्राइभ प्लग–इन हाइब्रिड संस्करण सार्वजनिक गरेको थियो।
अर्कोतर्फ, डिफेन्डर जेएलआरको सबैभन्दा लोकप्रिय र सर्वाधिक बिक्री हुने मोडल शृंखलामध्ये एक हो। रोयटर्सका अनुसार सन् २०२५ मा मात्रै विश्वभर एक लाखभन्दा बढी डिफेन्डर बिक्री भएका थिए। यस्तो लोकप्रिय मोडलको डिजाइन अधिकार उल्लंघन भएको दाबीसहित अदालतबाटै प्रतिबन्धको आदेश आउनुलाई अटोमोबाइल क्षेत्रमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।











