ग्यासको सहज आपूर्तिका लागि पूर्ण क्षमतामा काम गर्न उद्योगलाई आयल निगमको निर्देशन

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन ग्यास उद्योगहरूलाई आयातदेखि बजारमा वितरणसम्मका सबै काम पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले मंसिर ८ गते पत्र जारी गर्दै देशभर ग्यासको आपूर्ति सहज र नियमित बनाउन उद्योगहरूलाई यस्तो निर्देशन दिएको हो।
निगमले बजारको मागअनुसार ग्यासको आयात बढाउन, उद्योगमा रहेका भण्डारण क्षमता पूर्ण रूपमा प्रयोग गरी पर्याप्त ग्यास मौज्दात राख्न र भन्सारमा रोकिएका ग्यास बोकेका बुलेटहरू समयमै छुटाउन भनेको छ।
त्यस्तै ग्यास विक्रेतामार्फत बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरेर उपभोक्तासम्म नियमित रूपमा पुर्याउन पनि निर्देशन दिइएको छ।
ग्यासको आपूर्ति सहज बनाउन तीनवटा पक्षमा काम गर्न निगमले निर्देशन दिएका छ। बजारको मागअनुसार ग्यास आयात बढाउने र भन्सारमा रहेका बुलेट समयमै छुटाउने र उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा प्रयोग गरी पर्याप्त ग्यास मौज्दात राख्ने भनेको छ। त्यसैगरी विक्रेतामार्फत सिलिन्डर भरेर बजारमा नियमित वितरण गर्न पनि निर्देशन दिएको छ।
आयात भण्डारण र वितरणलाई एकसाथ प्रभावकारी बनाउँदा बजारमा ग्यासको आपूर्ति व्यवस्थित हुने र उपभोक्ताले सहज रूपमा ग्यास पाउने अपेक्षा गरिएको निगमले बताएको छ। यसैबीच निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर जम्मा नगर्न आग्रह गरेको छ। कृत्रिम अभाव सिर्जना हुने गतिविधिमा संलग्न नहुन पनि निगमले उपभोक्तालाई सचेत गराएको छ।











