‘मेरो कथा र व्यथा म आफै लेख्छु’ भन्ने नाराका साथ ‘म’ पुस्तकको दोस्रो संस्करण विमोचन

काठमाडौं । म पुस्तकको दोस्रो संस्करण विमोचन भएको छ । लुम नेपालद्धारा मेरो कथा लेखन कार्यशालाले जन्माएको उक्त पुस्तक ललितपुरको यलमाया केन्द्रमा शनिबार विमोचन गरिएको हो । मेरो कथा र व्यथा म आफै लेख्छु भन्ने नाराका साथ सत्य घटनामा आधारित प्रतिनिधि कथाहरू समेटेर लुम नेपालले प्रकाशित गरेको हो ।
‘म’को दोस्रो संस्करणमा ज्ञानु र सावित्रीसँगै जानकी जोशी, सीता शेर्पा राई, प्रेरणा खत्री, बासुदेवी विक, डम्बरकुमारी छुर्दाकी मगर, सेलिना चौधरी, ज्ञानु राई, सुमित्रा विक, प्रतीक थापा, संगीता चौरासिया, नज्बुन निशा खान गरी १३ जनाको कथा समेटिएको छ । संग्रहमा फरक यौनिकता भएका, हिंसामा परेका, महिला अधिकारको क्षेत्रमा काम गरेका महिला आदिको कथा समेटिएको छ ।कथा लेखन कार्यमा रिना खत्री, लजना देशार र रञ्जु यादवले कार्यशालामा म कथाका पात्रहरुलाई सहयोग गरेका थिए ।
महिलावादी ज्ञान उत्पादनमा सहयोग पुग्ने हेतुले यस पुस्तक विमोचन गरिएको समाजशास्त्री डा। निति अर्यालले बताइन् । म कथाका सम्पादक कैलाश राईले कथा लेखनको क्रममा सुरुमा धेरैलाई अन्योल भएको बताइन् । ‘सुरुमा उहाँहरूमा कसरी लेख्ने होला भन्ने अन्योल थियो,’ उनले भनिन्, ‘हामीले वर्कसप गयौँ। भित्रैबाट उहाँहरूका भोगाइ पोख्न लगायौँ । आफ्नो कथा आफ्नै लेन्सबाट लेख्न सिकायौँ । उहाँहरू भित्रको ‘म’ निकाल्न लगायौँ ।’
विशेष गरी सीमान्त महिलाहरूको इतिहास र अनुभवको डकुमेन्टेसन गर्न आवश्यक भएकाले यस्ता कथाहरू अझै आउनुपर्ने उनको भनाइ छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य सरोनी सिंह, महिला अधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारी, त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक विन्दु पोख्रेल लगायतको उपस्थिति थियो ।













