बीमाको दायरा ४१ प्रतिशतमा पुग्यो, कुल कति बीमित बीमामा समेटिए ?

काठमाडौं । नेपालमा ४१.१५ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको बीमा समितिले जनाएको छ । समितिले चालु आर्थिक बर्षसम्मको बीमा व्यवसायको प्रारम्भिक विवरण सार्वजनिक गर्दै म्यादी, लघु म्यादी र वैदेशिक रोजगारी जीवन बीमा लेखसहित कुल जनसंख्या मध्ये बीमाको दायरामा आएको जनसंख्या ४१.१५ प्रतिशत पुगेको जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा २७.५१ प्रतिशत रहेको बीमाको दायरामा आएको जनसंख्या एक वर्षमा नै १३.६७ प्रतिशतले बढेको बीमा समितिको दाबी छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेका लागि अनिवार्य गरेको वैदेशिक रोजगारी जीवन बीमा लेख बाहेक नै ३८.२६ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको समितिको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो संख्या २५.५७ प्रतिशत मात्रै रहेको थियो ।
बीमा समितिले प्रकाशन गरेको तथ्यांक अनुसार नेपाल सरकारले अनिवार्य गरेको म्यादी बीमामा ठूलो सङख्यामा बीमा भएको तथ्यांकले देखाएको छ। म्यादी र लघु म्यादी बीमालेख हटाउँदा बीमाको दायरमा रहेको जनसंख्या १६ प्रतिशत देखाउने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताँउछन् । म्यादी गर्नेले तिरेको प्रिमियम रकम फिर्ता हुँदैन । तर, बीमितको कुनै दुर्घटना भयो भने उसको परिवारले दाबी भुक्तानी पाउँछ ।
सावधिक अर्थात् लगानी जीवन बीमा योजनामा भने बीमितले तिरको बीमा शुल्कका साथै कम्पनीले बीमालेख खरिद गर्नेलाई दिने बोनस रकम समेत थप भएर बीमा अवधि समाप्त भएपछि एकमुष्ट रकम प्राप्त गर्छ ।
सावधिक बीमा योजना भनेको एक प्रकारको बचत पनि हो । यस्तो बीमा गर्ने नागरिकको संख्या भने तुलनात्मक रुपमा कम रहेको देखिन्छ ।
बीमा क्षेत्रका अधिकारीहरुले दाबी गरेजस्तो ४१ प्रतिशत भन्दा बढी जनसंख्यामा बीमाको पहुँच नपुगेको बताँउदै आएका छन् । बीमा समिति भने गत बर्ष उल्लेख्निय बीमा साक्षरता र अन्तक्रियाको कारण यो सम्भव भएको भन्दै किटान गर्दै आईरहेका छन् ।
कुल जनसंख्या ३ करोड ३ लाख २२ हजार ७०२ लाख आधार मानेर उक्त तथ्यांक तयार पारिएको समितिले जनाएको छ । स्थानीय तहसम्म बीमा कम्पनीको उपस्थिति पुग्दा बीमा गर्ने नागरिकको संख्या पनि बढेको समितिको प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले बताँउछन् । बीमा समितिले सुर्गम देखि दुर्गम क्षेत्रसम्म बीमाको दायरा बढाउन गरिएको सचेतनाको कारणको बीमाको दायरा विस्तारमा थप सहयोग पुगेको उनी बताँउछन् ।
समितिले प्रदेश सरकार र स्थानीय तहसँग मिलेर जनचेतनामुक कार्यक्रम गरिरहेको छ भने, बीमा कम्पनी पनि गाउँ गाउँसम्म पुगेका छन्,’ उनले भने, ‘बीमा भनेको सुरक्षा हो भन्ने शिक्षा नागरिकमा पनि बढेको छ, जसले एक वर्षमै बीमा गर्नेको संख्या धेरै बढेको हो ।’ वास्तविक तथ्यांकले यस्तो देखिएको छ ।
बीमा कम्पनीमा प्रत्यक्ष रोजगारी पाउनेको संख्या एक वर्षमा ८दशमलव ८८ प्रतिशतले बढेर ११ हजार ८३० पुगेको छ । २०७८ असार मसान्तसम्म १० हजार ७५२ जनालाई प्रत्यक्ष रोजगारी दिएकोमा २०७९ असार मसान्तमा आउँदा ११०० भन्दा बढीले थप रोजगारी पाएका छन् । त्यस्तै बीमा कम्पनीको कार्यालय संख्या २ हजार ९३३ बाट बढेर ३ हजार ३३६ पुगेको छ ।














