सुन पसलबाट छाया बैंकिङ्ग कारोबार गरी दुई करोड भन्दा बढी हिनामिना

काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका १० खोर्सानेस्थित कमला ज्वलर्सका सञ्चालकले सर्वसाधारणको २ करोडभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । उक्त सुन पसलमा छाया बैंकिङ्ग कारोबार सञ्चालन गरेर सर्वसाधारणहरुको २ करोड रकम हिनामिना भएको खुलेको हो ।
सर्वसाधारणलाई बचत पासबुक जारी गरेर गैरकानुनी ढङ्गबाट छाया बैंकिङ्ग कारोबार गरी ठगी गरेको आरोपमा सञ्चालक राजु विश्वकर्मालाई गत कात्तिक २७ गते नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी कार्यालयका अनुसार ठगीको आरोपमा सुुरुमा निवेदन पर्दा ८३ लाख ४४ हजार रुपैयाँको हिनामिना भएको खुलेको थियो । आरोपित राजु विश्वकर्मा र कमला विश्वकर्मा पक्राउ परेपछि प्रहरीमा जाहेरी दिनेको संख्या सोमवारसम्म ८३ जना पुुगेका छन् । उजुुरी दिने दैनिक रुपमा बढिरहेकोले ठगी भएको रकमसमेत अझै बढ्ने आशङ्का प्रहरीले गरेको छ ।
प्रहरीमा पक्राउ परेर अनुसन्धानका क्रममा रहेको विश्वकर्माले सर्वसाधारणलाई १७ प्रतिशत ब्याजको लोभ देखाएर बचत गर्न लगाउने र घरजग्गा खरिद गरेर आफ्नो नाममा पास गर्ने खुलेको छ । स्रोतका अनुसार विश्वकर्माले अहिलेसम्मा ३ वटा घर समेत खरिद गरिसकेको दाबि छ । सो ठगी धन्दामा पर्ने बढी महिला रहेका छन् । प्रहरीका अनुसार अनुुसन्धानका क्रममा रहेको आरोपितबाट सर्वसाधारणको रकम फिर्ता भएपनि इजाजत बिना नै बैकिङ्ग कारोबार गरेर ठगी आरोपमा उनीविरुद्ध मुद्दा चल्ने छ ।












