सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

२ पुष २०७९, शनिबार २१:२०

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका माननीय प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित माननीय प्रदेश प्रमुखको कार्यालयमा अलगअलगरूपमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउन प्रदेश नं। १ मा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा जानकी कुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त सुगन शमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो । ती टोलीबाट प्रदेशगत निर्वाचनको विवरण पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने व्यवस्था रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*