मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

२७ माघ २०७९, शुक्रबार ११:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समीक्षाका लागि तयार गरिएको मस्यौदालाई केन्द्रीय बैंकको सञ्चालक समितिको बैठकपछि अर्धवार्षिक समीक्षा सार्वजनिक गरिएको हो ।

समीक्षाले २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा(ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ ।

साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको रु.२ करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था समेत मिलाइएको छ ।

समीक्षामार्फत बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइने व्यवस्था गरिएको छ । यसले थोरै भए पनि ब्याजदर घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

राष्ट्रबैंकले तत्कालै धेरै ब्याजदर घटाउँदा आयात प्रोत्साहित भई पुनः अवस्था असहज हुनेतर्फ सचेत बन्दै अन्य पोलिसी रेटहरुलाई चलाएको छैन । आइएमएफको निर्देशनअनुसार नै केन्द्रीय बैंकले ब्याजदरमा लचकता नदेखाएको देखिन्छ ।

मौद्रिक नीतिको समीक्षाले विद्यमान बैंक ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राखेको छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थालाई यथावत् राखिएको बैंकले जनाएको छ । यद्यपि, बैंक तथा वित्तीय संस्थालाई ८।५ प्रतिशतको बैंक दरमा उपलब्ध गराउँदै आएको तरलता सुविधा अन्तर्गत ओभर नाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा झार्ने बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीतिमा लिइएका लक्ष्य तथा प्रक्षेपणहरूलाई यथावत् राखिएको समेत बैंकले जनाएको छ । ब्याजदर करिडोर प्रभावकारी हुने र भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने गरी तरलता व्यवस्थापन गरिने बैंकले जनाएको छ ।

(पूर्णपाठ सहित)

Mid-Term-Review-of-Monetary-Policy_FY-2079-80

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*