बीमा प्राधिकरणको कोशी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय ‘बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता’ सम्पन्न भएको छ। मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजित प्रतियोगितामा कोशी प्रदेशका विभिन्न ६ विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
बीमा सम्बन्धी ज्ञान, चेतना तथा वित्तीय साक्षरताको अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको अध्यक्षता रहेको थियो। प्रतियोगिताको सञ्चालन तथा प्रश्नोत्तर सत्रको सहजीकरण क्विज मास्टर मनोज तिवारीले गरेका थिए।
प्रतियोगितामा बीमा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सहभागी विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा मेरिल्याण्ड माध्यमिक विद्यालयका हर्ष सिंह, सुरज पासवान र सम्भव भट्टराईको टोली प्रथम भएको छ। विजेता टोलीले प्रमाणपत्रसहित २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रीति देवले बीमाप्रतिको जनचेतना विस्तार गर्न विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताइन्। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा बीमाको महत्वबारे ज्ञान वृद्धि गर्ने विश्वास व्यक्त गरिन्। उनले बीमाको विषयमा आगामी दिनमा समेत विद्यालय स्तरमा विविध कार्यक्रम गरिने जानकारी दिइन्।
यस्तै शिक्षादीप बोर्डिङ स्कुलका केशव झा, विशेष पौडेल र अलिसा सापकोटाको टोली द्वितीय हुँदै प्रमाणपत्रसहित १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भयो। श्री पोखरिया माध्यमिक विद्यालयका कृष खतिवडा, अनुकुल आचार्य र प्रज्वल आचार्यको टोली तृतीय स्थान हासिल गर्दै प्रमाणपत्रसहित १० हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भएको छ।
प्रतियोगितामा सहभागी विराट क्याम्पस, सिटी माध्यमिक विद्यालय र सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयका टोलीहरूलाई पनि सहभागी प्रमाणपत्र प्रदान गरिएको थियो।












