फागुन मसान्तसम्ममा ७ खर्ब ९४ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रेमिट्यान्स सो अवधिसम्म २५.३ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३,५१,७६१ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १,९२,५५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४०.९ प्रतिशतले बढेको थियो ।












