नेपालको उर्जा क्षेत्रमा लगानी गर्न मन्त्री बस्नेतद्वारा कोरियाली लगानीकर्तालाई आग्रह

२७ भाद्र २०८०, बुधबार १७:२०

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेको छ ।
मन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ताका लागि आउनुभएका माथिल्लो त्रिशुली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एमम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमलाई उक्त आग्रह गरिएको हो ।

वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्यस्थल रहेको, सरकारले त्यसका लागि आवश्यक वातावरण बनाएको तथा वैदेशिक लगानीको प्रतिफल फिर्ताका लागि समेत सहज रहेको उल्लेख गर्दै उहाँले थप केही महत्वपूर्ण आयोजनामा लगानी विस्तार गर्न आग्रह गरे । नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले कोरियाली प्रविधि, सीपबाट नेपालले समेत फाइदा लिन सक्ने बताए । माथिल्लो त्रिशुली एक जलविद्युत् आयोजनालाई सहज रुपमा अगाडि बढाउन सरकारकोतर्फबाट पूर्ण सहयोग रहने र समयसीमा भित्रै सम्पन्न गर्न मन्त्री बस्नेतले आग्रह गरे ।

सो आयोजना दुई देशबीचको मैत्री सम्बन्धलाई थप विस्तार गर्ने एउटा महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले थप ठूला आयोजनामा लगानी गर्न कोरियाली लगानीकर्तालाई अनुरोध गरे । सरकारले वैदेशिक लगानीको सहजीकरणका लागि कानुनी, नीतिगत तथा संरचनागत सुधार गरेको जानकारी दिँदै उहाँले निर्माणाधिन माथिल्लो त्रिशुली एक आयोजना जस्तै अन्य ठूला र महत्वपूर्ण आयोजनामा लगानी गर्न विशेष अनुरोध गरे । माथिल्लो त्रिशुली एक जलविद्युत् आयोजनालाई आफू वन तथा वातावरणमन्त्री रहँदा वनसँग सम्बन्धित विषयलाई सहजीकरण गरेको र शिघ्र निर्णय गरिदिएको स्मरण गर्दै मन्त्री बस्नेतले तोकिएको समयमा आयोजना सम्पन्न गर्न सरकार र मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण हुने विश्वास दिलाए ।

सो आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एमम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रुपमा खपत बढाइ अतिरिक्त भएको ऊर्जा छिमेकी देशहरुमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनिकरणमा ठूलो योगदान गर्न सकिने बताए ।

उनले कोरियाली लगानीकर्तालाई नेपाल सुरक्षित गन्तव्य भएको विश्वास दिलाउने र थप लगानीका लागि आग्रह गर्ने विश्वास दिलाएका थिए । “ म यहाँबाट फर्केपछि कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न थप आग्रह गर्नेछु । त्यसको उदाहरणको रुपमा माथिल्लो त्रिशुली एक जलविद्युत् आयोजना हो भन्ने विश्वास दिलाउँछु ” प्रमुख कार्यकारी अधिकृत होउले भने । उनले माथिल्लो त्रिशुली एक जलविद्युत् आयोजनालाई तोकिएको समयमा नै सम्पन्न गराउन आफूहरुले सक्दो पहल गर्ने मन्त्री बस्नेत समक्ष विश्वास दिलाए ।

रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका १ मा भूमिगत विद्युतगृहलगायतका संरचना निर्माणाधीन छन् ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*