बाढीले सयपत्री हाइड्रोपावरको पावरहाउसमा लेदो थुप्रियो, विद्युत् उत्पादन बन्द

१४ आश्विन २०८३, बुधबार ०९:४५

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले बागलुङको ताराखोला गाउँपालिकामा सञ्चालित आयोजनामा बाढीका कारण थप क्षति पुगेपछि विद्युत् उत्पादन तथा प्रसारण सेवा अवरुद्ध भएको जनाएको छ।

कम्पनीका अनुसार बाढीले आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनसम्म जडान गरिएको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुर्‍याएको छ। त्यसका कारण विद्युत् उत्पादनसँगै प्रसारण कार्यसमेत रोकिएको हो। यसअघि पनि बाढीका कारण आयोजना प्रभावित बनेको जानकारी कम्पनीले गराएको थियो।

पछिल्लो घटनामा आयोजनाको पावरहाउसबाट करिब १०० मिटर माथिको क्षेत्रबाट माटो, लेदो र बगरसहितको ठूलो बहाव आएर पावरहाउसको पछाडिपट्टि थुप्रिएको कम्पनीले जनाएको छ। लेदो तथा माटोको ठूलो थुप्रोका कारण पावरहाउस प्रभावित भएपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको हो।

कम्पनीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। आयोजनाको हेडवर्क्स, पाइपलाइन, पावरहाउस भवन, कर्मचारी आवासगृहलगायतका अन्य संरचनामा समेत क्षति नपुगेको जनाइएको छ।

हाल पावरहाउस परिसरमा थुप्रिएको माटो तथा लेदो हटाउने काम भइरहेको छ। त्यस्तै, बाढीका कारण क्षतिग्रस्त ३३ केभी प्रसारण लाइनका पोल तथा तार मर्मत गर्ने कार्य पनि अघि बढाइएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*