‘अर्थ मन्त्रालयको शेयर बजार नीति स्वार्थ समूहकेन्द्रित’

काठमाडौं । नेपालको पूँजी बजारको वर्तमान अवस्थाप्रति प्रश्न उठाउँदै अर्थ मन्त्रालयले शेयर बजारसँग सम्बन्धित सबै पक्षलाई समान प्राथमिकता नदिएको आरोप लगाइएको छ । सीमित व्यक्ति तथा समूहसँगको सहकार्यमा बढी जोड दिँदा बजारको विकास र लगानीकर्ताको हितमा अपेक्षित सुधार हुन नसकेको दाबी गरिएको हो ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको छलफलका क्रममा नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कंडेलले यस्तो धारणा राखेका हुन् । पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय र लगानीमैत्री बनाउन राज्यको प्राथमिकता तथा नियामकीय दृष्टिकोणमा सुधार आवश्यक रहेको उनले बताए ।
उनले अहिलेको कानुनी संरचनाले बदलिँदो शेयर बजारलाई प्रभावकारी रूपमा सम्बोधन गर्न नसकेको बताए । पुराना कानुन र निर्देशिकाका आधारमा बजार सञ्चालन भइरहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय अभ्यासअनुकूल समयसापेक्ष कानुनी व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिए । बजारको सञ्चालन, नियमन, पारदर्शिता र लगानीकर्ताको संरक्षणका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्ने बलियो कानुन आवश्यक रहेको उनको भनाइ थियो ।
पूँजी बजारमा हुने आर्थिक अनियमितताका घटनामा जिम्मेवार व्यक्तिलाई प्रभावकारी रूपमा उत्तरदायी बनाउन नसकिएको विषयसमेत उनले उठाए । ठूलो रकमको चलखेलमा संलग्नलाई पर्याप्त कारबाही हुन नसक्दा नियमन प्रणालीप्रति प्रश्न उठ्ने अवस्था बनेको उनको दाबी छ । त्यस्तै, धितोपत्र बोर्डका नेतृत्व तहमा रहेका व्यक्तिहरूले विवाद उत्पन्न भएपछि राजीनामा दिने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाए ।
धितोपत्र बोर्डको अधिकार, जिम्मेवारी र जवाफदेहिता स्पष्ट हुने गरी नयाँ तथा संशोधित कानुन ल्याउनुपर्नेमा उनले जोड दिए ।











