डिभि परेकाहरु अधिकांश अमेरिका जान नपाउने, भिषाको नाममा चार अर्ब असुली भिषा रेसियो न्यून

काठमाडौं । केही दिन अघि डिभि परेर भिषाका लागि काठमाडौंस्थित अमेरिकी राजदुताबासमा पुगेका ९८ जना नेपाली मध्ये जम्मा एक जनाले मात्रै भिषा पाए । अहिले काठमाडौंस्थित अमेरिकी राजदुताबासले विद्यार्थी, भिजिट, डिभी तथा अन्य भिषा आदेवकहरु मध्ये अत्यन्तै न्यून मात्रै भिषा दिने गरेको पाइएको छ ।
अहिलेले इडिभी चिठ्ठाको फर्म भर्न लगाएर बर्षौ कुराएर डिभी परेर अमेरिका जाने अन्तिम तयारीमा रहेका थुप्रैको सपना चकनाचुर हुन पुगेको छ । स्रोतका अनुसार अमेरिकी इडिभी लोटरीका लागि ३९३३ जना नेपालीहरु छनौट भएका थिए । उनीहरुको भिषा आवेदन दिने अन्तिम दिन आज अर्थात सेप्टेम्वर ३० सम्म मात्रै हो । यसअघि ट्रम्पको आदेशले बन्द गरिएको डिभी परेकाहरुको अन्तर्वार्ता केही दिन पहिले अदालतको आदेशबाट पुनः सुरु भएको थियो ।
तर, ट्रम्प प्रशासनको भिषा सम्बन्धी कडा नीतिका कारण काठमाडौंस्थित दुताबासमा पुगेका मध्ये अधिकांश रित्ता हात फर्केका छन् । अब उनीहरु अमेरिका जान पाउने छैनन् । अमेरिकाले विश्वभरका गरिब देशका नागरिकहरुको तथ्याङ्क संकलन तथा सस्तो मुल्यका कामदार आपूर्तिका लागि विश्वभर डिभी चिठ्ठा खोल्ने गरेको छ । कैयौं मानिसहरु उक्त इडिभी भरेका छन् । अमेरिकाले आफ्ना विश्वभर सूचनाको पहुँचका लागि इडिभी नामक कार्यक्रममार्फत बायोमेट्रिक लिने गर्दछ ।
‘अहिले काठमाडौंस्थित दुताबासले नेपालीहरुले भिषा दिन लगभग बन्द गरे जस्तै छ’, एक कन्सल्टेन्सीका सञ्चालकले बीमापोष्टसँग भने । विद्यार्थी भिषामा आवेदन दिएका विद्यार्थीहरु मध्येमा पनि अत्यन्तै न्यून, भिषा पनि दिन्छ है भनेर देखाउनको लागि मात्रै सीमित भिषा जारी गर्ने गरेको छ । त्यस्तै अन्य कार्यक्रम तथा भिजिट भिषामा जानेहरुको भिषा रेसियो अत्यन्तै न्यून रहेको छ ।
अमेरिकी अध्यागमनको तथ्याङ्क अनुसार सन् २०२५ मा ८१ प्रतिशत विद्यार्थीहरुको भिषा अस्वीकार गरिएको थियो । भने सन् २०२६ मा सो रेसियो अझै बृद्धि भएको छ । नेपाली विद्यार्थीहरुले प्रतिव्यक्ति करिब ७३ हजार रुपैयाँ दुताबासमा बुझाउनु पर्दछ । सन् २०२५ मा करिब ४५ हजार नेपाली विद्यार्थीहरुले अमेरिकी दुताबासमा आवेदन दिएको देखिन्छ । सो आधारमा विद्यार्थीहरुबाट मात्रै अमेरिकाले तीन अर्ब २८ करोड रुपैयाँ भन्दा बढि शुल्क असुली गर्न सफल भएको छ । गत बर्ष करिब आठ हजार नेपाली विद्यार्थीहरु अमेरिका गएका थिए । त्यस बाहेक भिजिट भिषामा अमेरिकाका लागि बार्षिक करिब ४० हजार जनाले आवेदन दिने गर्दछन् । उनीहरुबाट अमेरिका एक अर्ब रुपैयाँ असुली गर्दछ । नेपालबाट मात्रै अमेरिकाले भिषा शुल्क बापत चार अर्ब रुपैयाँ भन्दा बढि लैजाने गरेको छ ।
पछिल्ला दिनहरुमा काठमाडौंस्थित अमेरिका दुताबासभित्र भिषा आवेदन दिन गएका मध्ये अधिकांश रित्तो हात फर्किरहेका छन् । एक कन्सल्टेन्सीका सञ्चालक भन्छन्, गरिब नेपालीहरुले हजारौं रुपैयाँ खर्च गरेर अमेरिकी दुताबासमा भिषा आवेदन दिन जानुको कुनै औचित्य र अर्थ नरहेको बताउँछन् । दुताबासका कर्मचारीको अनुहार हेर्नका लागि मात्रै त्यत्रो पैसा किन तिर्ने ? प्रश्न गर्छन ।











