१० जनाले १७ करोड राजश्व छले, विभागद्वारा मुद्दा दायर

२४ जेष्ठ २०७८, सोमबार २३:००

काठमाडौँ । देशका विभिन्न स्थानमा व्यवसाय गर्दै आएका १० जनाले १७ करोडभन्दा बढि भ्याट छली गरेको खुलेको छ । राष्ट्रिय ढुकुटीमा जाने भ्याट छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले राजश्व छलि गर्ने १० जना बिरुद्ध मुद्दा दर्ता गरेको छ । विभागका अनुसार झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी १७ करोड ७ लाख ६० हजार ९ सय ७७ रुपियाँ राजश्व छली भएको पाइएपछि मुद्दा दायर गरिएको हो ।

मोरङको सुनसरीको धरान उपमहानगरपालिका १२ बस्ने ग्लोबल इम्पेक्स इन्टरनेशनलका प्रोप्राइटर किसनकुमार अग्रवालबाट ४ करोड ४२ लाख ७ हजार ६ सय ७४ रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबीसहित जेठ २३ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ । धरान १२ कै एसएन इन्टरनेशनलका प्रोप्राइटर रामनिवास अग्रवालबाट ४ करोड ५२ लाख ४२ हजार ७ सय ५३ रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबीसहित जेठ २३ गते नै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको राजश्व कार्यालयले जनाएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ बस्ने श्यामकुमार बानियाँ र मनमोहन जयसवालबाट ५ करोड ५० लाख ८४ हजार ४२ रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबीसहित बैशाख २१ गते उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरिएको छ ।

विभागले पर्साको वीरगञ्ज उपमहानगरपालिका १९ बस्ने भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्रप्रसाद कलवार, ट्रक चालक सुनिलकुमार यादव, तिरुपति खाद्य तथा भुसा सप्लायर्सका प्रोप्राइटर राममणि खनाल र वीरगञ्ज भन्सारका प्रतिनिधि अशोककुमार श्रेष्ठबाट १ करोड २२ लाख ५० हजार ९ सय ८ रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबीसहित बैशाख २८ गते उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगञ्जमा मुद्दा दर्ता गरिएको जनाएको छ ।

मुद्दा दायर भई राजश्व विभागको कारवाहीको निसानामा पर्नेहरुमा भ्याट बिल विजक जारी नगरी आयकर छलि गर्ने भारत निवासी हाल काठमाडौँ १४ कुलेश्वर बस्ने सत्यनारायण प्रसादबाट ९९ लाख ७५ हजार ६ सय रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबीसहित जेठ २१ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ । मुद्दा दायर गरिएका मध्ये भन्सार चोरी पैठारी राजश्व चुहावट गर्ने रौतहट बृन्द्रावन नगरपालिका ६ बस्ने अमनकुमार तिवारीबाट ४० लाख रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*