सरकारी कर्मचारीको तलब बढ्दा बजार मूल्य पनि बढ्यो, खाने तेलको मूल्य उच्च बृद्धि

२५ जेष्ठ २०७८, मंगलवार ११:०३

काठमाडौं । आगामी साउनदेखि सरकारी कर्मचारीको तलब बढ्ने भएको छ । यसैको बावजुत कर्मचारीको तलब बढ्न अगावै बजार महँगीएको छ । साउन १ गतेदेखि करिब ६ लाख कर्मचारीको तलब बढ्नुभन्दा अघि बजार महँगीले अन्य सर्वसाधारणमा महँगीले प्रभाव परेको देखिएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलव २ हजार रुपैयाँ बढाएको छ। कर्मचारीको बढेको तलब पाउनु अघि नै बजार भाउ उकालो लागेको हो । बजार महँगीएसँगै न्युनआयदर भएका सर्वसाधारणलाई खाद्य वस्तु किन्न समेत धौ–धौ परेको छ । सरकारी कर्मचारीको तलब बढ्दा आम सर्वसाधारणले पनि त्यहि अनुरुप बजार मूल्यमा स–सामान खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

अहिले सबैभन्दा बढी मूल्य खाने तेलमा र मासुको मूल्य उच्च रुपले बढेको छ । खाने तेल साढे दुई महिनायता लिटरमै ७५ रुपैयाँसम्म बढेको छ । साढे दुई महिनाअघि १४५ देखि १६० रुपैयाँ पर्ने एक लिटर सोयाबिन तेलको मूल्य बढेर २२० रुपैयाँदेखि २३५ रुपैयाँसम्म पुगेको ।
प्रतिलिटर २३५ रुपैयाँ पर्ने सनफ्लावर तेल अहिले ३०० रुपैयाँसम्म पुगेको छ । तोरीको तेल पनि २७५ रुपैयाँदेखि २९० रुपैयाँसम्ममा बिक्री भएकोमा ३३० रुपैयाँसम्म पुगेको छ ।

त्यसैगरी, मासुको मूल्य पनि बढेको छ । केही महिना अघि ३१० रुपैयाँमा पाइने कुखुराको मासु अहिले ४५० भन्दा बढी पुगेको छ। यसैगरी, गेडागुडी र तरकारीको मूल्य पनि बढेको देखिएको छ । यसको प्रभाव सर्वसाधारणहरुमा पर्न गएको देखिएको छ ।

सरकारले वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा अझै कायमै छ । कतिपय निजी कार्यालयहरु बन्द रहेको अवस्थामा कार्यबिहिन भएर बसिरहेका व्यक्तिहरुमा बजार मूल्य अभिबृद्धिले झनै थप प्रभाव पार्ने देखिएको छ । व्यवसायीहरुले सरकारी कर्मचारीको तलब र बजेट देखाएर सामानको मूल्य बढाउने गरेको देखिएको छ ।

आगामी साउनदेखि कर्मचारीको तलब बढ्ने निर्णयले सर्वसाधारणमा एक प्रकारको वितृष्णा पैदा गर्ने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले बताए । ‘सरकारी कर्मचारीको तलब वृद्धिको असर अन्य नागरिकमा पनि परेको छ,’ उनले भने, ‘सरकारले यसको समाधानका बारेमा बेलैमा सोच्नुपर्छ ।’

कर्मचारीको तलब साउनदेखि बढ्ने भनेपनि बजारको मूल्य भने तलब बढ्ने मिति अगाबै बढ्न थालेको छ । व्यवसायी तथा व्यापारीहरुले कर्मचारीको तबल बढ्ने निर्णय भएलगत्तै विभिन्न बस्तुहरुको मूल्य बढाएको हो । विभिन्न खाद्य बस्तु तरकारी, दाल, तेललगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । साथै तरकारी तथा फलफुलको मूल्य पनि उच्च रुपले बढ्न थालेका छन् । बजेट परितपछि विशेष गरी दाल, तेल, मासुलगायतका वस्तुको मूल्य बढेको खुद्रा व्यापारीहरु बताउँछन् ।

विज्ञहरुका अनुसार कर्मचारीको तलब, जेष्ठ नागरिकको भत्ता बढुवा हुने निर्णय भएसँगै दाल, तेल, फलफूल, हरियो तरकारी लगायतका खाद्य वस्तुमा व्यापारिहरुले मूल्य अभिबृद्धि गरेको देखिएको छ । सरकारी अनुगमन कमजोर हुनुको फाइदा व्यापारीले उठाइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*