राष्ट्रिय बीमा कम्पनीसहितका नौ बीमा कम्पनीको खुद दावी भुक्तानी घट्यो, नौ महिनामा पौने पाँच अर्ब दावी भुक्तानी

२५ जेष्ठ २०७८, मंगलवार १३:४६

काठमाडौं । नेपालमा सञ्चालित १९ जना निर्जिवन बीमा कम्पनीहरु मध्ये राष्ट्रिय बीमा संस्थान, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनीको खुद दावी भुक्तानी घटेको छ । खुद दावी भुक्तानी बीमा कम्पनी स्वयम्ले दावी भुक्तानी बापत बहन गरेको जोखिम बापतको भुक्तानी हो । निर्जिवन बीमा कम्पनीको दावी भुक्तानी पुनर्बीमा कम्पनी समेतले व्यहोर्ने हुँदा पुनर्बीमा कम्पनीबाट शोधभर्ना लिई गरेको दावी भुक्तानी कूल हो भने कूल दावी भुक्तानी मध्ये कम्पनीले जोखिम बहन गरे बापत दिएको भुक्तानी खुद दावी भुक्तानी हो ।

चालु आर्थिक वर्षको नौ महिनाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै दावी भुक्तानी राष्ट्रिय बीमा संस्थानको घटेको छ । सो कम्पनीको गत वर्षको तुलनामा ३२.३० प्रतिशतले खुद दावी भुक्तानी घटेको हो । गत अािर्थक वर्षको चैत्र मसान्तसम्ममा पाँच करोड आठ लाख सात हजार रुपैयाँ दावी भुक्तानी दिएको कम्पनीले यस आर्थिक वर्षको नौ महिने समीक्षा अवधीमा जम्मा तीन करोड ४३ लाख ९४ हजार रुपैयाँ मात्रै दावी भुक्तानी गरेको छ । स्मरणरहोस्, राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजि कम भएकोले सो कम्पनीले आफूले धारण गरेको जोखिम पुनर्बीमा कम्पनीलाई हस्तारण गर्ने गरेको छ । चुक्ताँ पुजि कम हुने संस्थाको जोखिम धारण गर्ने क्षमता कम हुन्छ ।

त्यसैगरी, दावी भुक्तानी घटाउन सफल हुने दोस्रो कम्पनीको रुपमा प्रिमियर इन्स्यारेन्स कम्पनी रहेको छ । सो कम्पनीको खुद दावी भुक्तानी २६.०७ प्रतिशत घटाउन सफल भएको छ । गत वर्ष ३६ करोड ६४ लाख २३ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको कम्पनीले यस आवमा २७ करोड आठ लाख ८८ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

त्यस्तै, पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको दावी भुक्तानी १९.१० प्रतिशतले घटेको छ । गत आवमा २० करोड दावी भुक्तानी गरेको कम्पनीले चालु आवमा १६ करोड रुपैयाँ मात्रै दावी भुक्तानी दिएको सो कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

त्यस्तै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको खुद दावी भुक्तानी पनि घटेको छ । सो कम्पनीको खुद दावी भुक्तानी १४.८५ प्रतिशतले घटेको छ । सो कम्पनीको दावी भुक्तानी मात्रै नभई खुद बीमा शुल्क समेत घटेको छ ।

त्यस्तै दावी भुक्तानी घटेका अन्य बीमा कम्पनीहरुमा एनएलजी इन्स्योरेन्स कम्पनी छ । सो कम्पनीले खुद बीमा शुल्क बृद्धि हुँदा समेत दावी भुक्तानी भने १०.९४ प्रतिशतले घटेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको पनि दावी भुक्तानी घटेको छ ।

दावी भुक्तानी सबैभन्दा धेरै बृद्धि हुने कम्पनीमा अजोड इन्स्योरेन्स परेको छ । सो कम्पनीको दावी भुक्तानी ११९ प्रतिशतले बृद्धि भएको छ । गत आवमा खुद दावी भुक्तानी बापत छ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीको यस वर्ष १४ करोड भन्दा बढि दावी भुक्तानी भइसकेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्सको दावी भुक्तानी बढेको छ ।

चालु आवको नौ महिनामा १९ बीमा कम्पनीहरुले कूल चार अर्ब ७२ करोड ८४ लाख एक हजार रुपैयाँ खुद दावी भुक्तानी गरेका छन् । गत आर्थिक वर्षमा चार अर्ब ३७ करोड ८१ लाख ८६ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेका थिए । गत आवको तुलनामा यस आवको तेस्रो त्रैमासमा आठ प्रतिशत बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*