प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आज सकिदै

२६ जेष्ठ २०७८, बुधबार १०:५४

काठमाडौं । प्रभु बैंक लिमिटेडले जेठ ११ गते, मंगलबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने आज बुधबार) अन्तिम दिन हो । उक्त ऋणपत्र खरिद गर्न चाहनेहरुले आजै बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ । बैंकले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नाममा प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्रका लागि आवेदन खुल्ला गरेको छ । सो ऋणपत्रमा आवेदन दिने आज अन्तिम म्याद हो ।

कूल ऋणपत्र मध्ये १६ लाख सर्वसाधारणका लागि र २४ लाख कित्ता विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५ सय कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गरेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्ने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

प्रभु बैंकको उक्त ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित मानिन्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*