नबिल बैंक र एनसीसी बैंक मर्जरमा जान छलफल हुँदै, १००ः३५ स्वाप रेसियो प्रस्ताव

२८ जेष्ठ २०७८, शुक्रबार ०८:३८

काठमाडौं । नबिल बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने सम्बन्धमा आज छलफल हुन लागेको एक राष्ट्रिय दैनिकले खुलासा गरेकोछ । जेठ २७ गते प्रकाशित आर्थिक दैनिकका अनुसार आज दुवै बैंकको सञ्चालक समितिको बैठक डाकिएको छ । सोही बैठकमा बिग मर्जरका लागि छलफल हुन लागेको हो ।

दुवै बैंकको आज एकै दिन सञ्चालक समितिको बैठकमा आपसमा मर्जरमा जाने निर्णय हुन सक्नेछ । नबिल बैंकको १०० कित्ता बराबर एनसीसी बैंकको ३५ कित्ता शेयर अर्थात नबिल र एनसीसी १००ः३५ रेसियोमा शेयर स्वाप गरी आपसमा गाभिने प्रस्ताव गरिएको छ । यद्यपि यो प्रस्ताव अन्तिम भने होइन, हाल प्रारम्भिक छलफलकै क्रममा रहेकोले उक्त विषयमा सहमति हुने वा भाँडिने अहिले नै एकिन भइसकेको छैन । यसअघि पनि एनसीसी बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जरमा जाने आन्तरिक छलफल अन्तिम चरणमा पुगेर भाँडिएको थियो ।

धितोपत्र बजारमा एनसीसी बैंकको शेयर मूल्य ३७८ रुपैयाँ रहेको छ भने नबिल बैंकको शेयर प्रतिकित्ता १३०४ रुपैयाँ रहेको छ । हाल नबिल बैंकको चुक्ता पुँजि १३ अर्ब ४८ करोड एक लाख ५८ हजार ४०० रुपैयाँ रहेको छ भने एनसीसी बैंकको कूल चुक्ता पुँजि १० अर्ब ३१ करोड ४५ लाख १७ हजार ४०० रुपैयाँ रहेको छ । दुई बैंकहरु मर्जरमा गएमा कूल चुक्ता पुँजि २३ अर्ब ७९ करोड ४६ लाख ७५ हजार ८०० रुपैयाँ हुनेछ ।

एनसीसी बैंकलाई स्वाप रेसियो निकै कम प्रस्ताव गरिएकोले सो बैंकका लगानीकर्ता नमान्न सक्ने सम्भावना समेत बलियो रहेको बताइन्छ । मर्जरमा जाने सम्बन्धमा दुवै बैंकहरुले औपचारिक रुपमा कुनै जानकारी सार्वजनिक गरेका छैनन् ।

यसैबीच, नबिल बैंकका सिईओ अनिल केशरी शाहले आज सञ्चालक समितिको बैठक बस्ने कुरा सत्य नभएको बताएका छन् । बाहिर हल्ला मात्रै चलेको जानकारी दिएका छन् ।

एनसीसी बैंकको सञ्चालक समितिको बैठक भने आज अपरान्ह ३ बजे बस्दैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*