अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा सरोकारवालाहरुको एकस्वर, थप नीतिगत व्यवस्थामा जोड

२९ जेष्ठ २०७८, शनिबार १३:५२

काठमाडौं । वित्तीय सेवालाई अपांगतामैत्री बनाउनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको अपाङ्गतामैत्री वित्तीय सेवा विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा जोड दिएका हुन् ।

नेपालको संविधानले नै सबै नेपाली नागरिकलाई समान सेवा सुविधाको व्यवस्था गरेको भए पनि नेत्रविहीनहरुले बैंक तथा वित्तीय संस्थासँगै सेयर कारोबारका लागि समान सेवा सुविधा नपाएको गुनासो गरेका छन् । नेपाल नेत्रहित संघका उपाध्यक्ष खोमराज शर्माले बैंकको ढोका देखिनै आफूहरुले नेपाली नै नभएको जस्तो व्यवहार भोग्दै आएको बताए । उनले वित्तीय क्षेत्र प्रविधिमैत्री भएको अवस्थामा दृष्टिविहीनहरुले प्रविधिको प्रयोगका लागि पनि अन्य सामान्य व्यक्ति सरह सुुविधा पाउनबाट बञ्चित भएको गुनासो गरे ।

कतिपय साथीहरुले त्यो सुविधा पाएपनि धेरै पहल गर्नुपरेको भनाई उनको छ । नीतिगत अस्पष्टता, विभेदयुक्त नीति र कानुन र नीतिको आ–आफ्नै ब्याख्याका कारण वित्तीय सुविधा प्रयोगमा समस्या भैरहेको गुनासो शर्माको छ ।

अन्य साधारण व्यक्ति सरह वित्तीय क्षेत्रमा विकास गरिएका प्रविधिलाई सहजै प्रयोग गर्न सक्ने क्षमता आफुहरुमा पनि रहेको र कतिपयले प्रयोग गर्दै आएकाले यो सेवा लिन सहज वातावरण हुनुपर्ने माग उनको छ । बैंक तथा वित्तीय संस्थामा खाता खोल्न देखि अन्य सेवा लिनका लागि अन्य व्यक्तिसरह सहज वातावरण नहुँदा समस्यामा परेको भन्दै सहज वातावारणको माग उनले गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले अहिलेको नीतिगत व्यवस्थाले वित्तीय क्षेत्रमा भएका सबै सेवा सुविधामा नेपालीहरुको समान हक रहेको प्रष्ट पारे । अपाङ्ग भएकै आधारमा नीतिगत कारण देखाई सेवाबाट बञ्चित गराउनु कारवाहीको विषय भएको उनको भनाई छ । यसर्थ वित्तीय सेवा प्रवाह गर्ने कुनै पनि निकायले कमजोर सावित गरी नीतिगत अस्पष्टताको कारण देखाई सेवाबाट बन्चित नगराउन उनले आग्रह गरेका छन् ।
अपाङ्गामैत्री सेवामा पूर्णता नभएको कुरालाई स्वीकार्दै आगामी दिनमा आवश्यक नीतिगत व्यवस्था सहित अघि बढ्नुपर्ने विचार बैंकर संघका अध्यक्ष भुवन दाहालको छ । यसका लागि कार्यदल नै बनाएर समय तालिका सहित आवश्यक काम गर्नुपर्ने धारणा उनले राखे । अहिलेको प्रविधिको प्रयोगमा आफुहरु भन्दा पनि अपाङ्गता भएका व्यक्तिहरु अझ अघि रहेको भन्दै यो सेवामा उनीहरुको पनि सहभागीता बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष पद्युमन पोखरेलले ग्राहकलाई सेवा दिने क्रममा धेरै कुराहरु सुधार गर्दै जानुपर्ने कुरालाई औंल्याए । यसमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा दिने क्रममा नियामकको नीतिगत व्यवस्थासँगै आफ्नै आन्तरिक नीतिगत व्यवस्थालाई पनि कसरी सुधार गर्न सकिन्छ भन्नेमा ध्यानपूर्वक काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।
सेयर कारोबारमा मध्यस्थकर्ताको भूमिका खेल्दै आएका धितोपत्र दलाल व्यवसायीहरुले पनि अस्पष्ट नीतिका कारण अपाङ्गता भएका व्यक्तिहरुलाई चाहेर पनि ढुक्कसँग सुुविधा प्रदान गर्न नसकेको गुनासो गरेका छन् । त्यस्ता प्रकारका व्यक्तिहरुलाई अझ विशेष प्रकारको सेवा दिनुपर्ने हो तर सम्झौतामा कतिपय नीतिगत अस्पष्टका कारण सबैलाई ढुक्क भएर सेवा दिन नसकेको जानकारी उनले गराए । नीतिगत स्पष्टतासँगै प्रविधिका प्रयोगका लागि वेव एक्सिबिलिटी गाइडलाइन्स र आर्थिक सुरक्षाका लागि बायोम्याट्रिक प्रणालीको विकास भए सेयर बजारमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई सहजै सेवा प्रदान गर्न सकिने भनाई मैनालीको छ ।

मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेख बहादुर थापाले पनि आफुहरुले दिने सेवाप्रवाहलाई अपाङ्गतामैत्री बनाउनेतर्फ आन्तरिक रुपमै छलफलमा जुट्ने र थप छलफलका लागि आगामी दिनमा छुट्टै कार्यक्रमको समेत आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सेयर बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अपाङ्गता भएका व्यक्तिका लागि प्रविधिमा सहज बनाउन नीतिगत व्यवस्था अनुसारको सिस्टम विकासमा जोड दिएका छन् । अहिले पनि अपाङ्गता भएका व्यक्तिहरुले प्रविधिको प्रयोगमै सेयर कारोबार गरिरहेको अवस्थामा समस्या र समाधानका विषयहरु प्रष्ट पारिदिए र त्यसपछि नीतिगत व्यवस्था भए सिस्टम विकासमा कुनै समस्या नहुने नेप्सेमा प्रमुख कार्यकारी अधिकृत साउदको भनाई छ ।

सेयर बजार अपाङ्गता भएका व्यक्तिहरुका लागि उपयुक्त व्यवसायिक क्षेत्र भएको प्रतिक्रिया आईरहदा नियामक निकाय नेपाल धितोपत्र बोर्र्डले पनि आगामी नीति तथा कार्यक्रममा आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । पुँजीबजारको कारोबारका लागि सुचना सबैभन्दा महत्वपूर्ण कुरा रहेको बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बताउँछन् । यसर्थ अपाङ्गता भएका व्यक्तिहरुले तस्विर, डाटाहरुमा भएका सुचनाहरुलाई कसरी पढ्न सक्छन् भन्नेमा पनि ध्यान दिनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । सेयर कारोबारको राफसापका लागि बैंकिङ क्षेत्र पनि जोडिने भएकाले सबै वित्तीय क्षेत्रमा आवश्यक सुधार गर्नुपर्र्नेे ढुङ्गानाको भनाई छ ।

कार्यक्रममा दृष्यिबिहीनहरुले आफूहरले कसरी वित्तीय सेवा लिँदै आएको, प्रविधिको उपयोग कसरी गर्दै आएको पस्तुती दिएका थिए । उनीहरुले यसरी सेवा लिने क्रममा आफूले भोग्दै आएको असहजता स्पष्ट पारेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*