हिमालयन रि इन्स्योरेन्स कम्पनीको वेभसाईटले जन्मायो आशंका

२९ जेष्ठ २०७८, शनिबार २०:००

काठमाडौं । बीमा समितिबाट लाईसेन्स पाउने प्रक्रियामा रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीले लाइसेन्स पाउनुपूर्व नै वेभसाइटको लागि डोमेन नेम दर्ता गराएको खुलेको छ । बीमापोष्टलाई प्राप्त विवरण अनुसार डब्लुडब्लुडब्लु हिमालयन रि डट कम नामक डोमेन यही २०७७ साल चैत्रको अन्तिम दिन दर्ता गरेको खुलेको छ ।

हिमालयन रि इन्स्योरेन्समा संस्थापक लगानीकर्ताको रुपमा लगानी गरेको शाहिल अग्रवाल तथा सुलभ अग्रवालको स्वामित्वमा रहेको शंकर ग्रुपको नेम सर्भरमा हिमालयन रि नामक डोमेन पार्किङ गरिराखेको भेटिएको छ ।

कम्पनी राजिष्ट्रारको कार्यालयमा बीमा समितिको अनुमति पछि मात्रै दर्ता भएको कम्पनीले बीमा समितिले आवेदन खोल्नु अघि नै आफूले लाइसेन्स पाउने निश्चित भएको आधारमा आवश्वक पूर्व तयारीहरु गरेको हो कि भन्ने आशंका जन्माएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले बीमा समितिले माथिल्लो तहको सेटिङमा लाइसेन्स पाएको आरोप लाग्दै आएको छ । अर्थमन्त्री विष्णु पौडेलको संलग्नतामा उक्त कम्पनीले लाइसेन्स दिने प्रक्रिया अघि बढाइएको आरोप बीमा बजारमा चल्दै गर्दा प्रस्तावित कम्पनीले पहिले नै वेभसाइटको लागि डोमेन नेम दर्ता गरेको खुलेको हो ।

हिमालयन रिको डोमेन नेम २०२.१६६.१९३.२४२ आईपीमा राखिएको छ । सोही आईपिओमा सन् २०१७ को अक्टोवर १५ गतेअघिसम्म शंकर ग्रुपकै यही आईपीमा पार्किङ गरिएको थियो । कम्पनीले कोड फर कोर इन्नोभेशन नामक कम्पनीबाट डोमेन रजिष्टर गरेको हुइजको डाटाबेसले देखाएको छ । सो संस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत आईटी सम्बन्धी काम गर्ने गर्दछ । त्यस्तै सरकारी पत्रिका गोरखापत्रको समेत वेभसाईट सोही संस्थाले बनाएको हो । हिमालयन रिका सञ्चालक सुलभ अग्रवाल युनियन लाइफका अध्यक्ष समेत हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*