नयाँ बीमा कम्पनी दर्ता गर्ने प्रयासमा बीमा समिति, १० वटा बीमा कम्पनी लाइसेन्स लिने दौडमा

काठमाडौं । हिमालयन रि लि नामक कम्पनीलाई सेटिङ पुनर्बीमा कम्पनीको लाइसेन्स दिएको आरोप लागेको बीमा समितिले पुनः नयाँ जीवन र निर्जिवन बीमा कम्पनीहरुका लागि नयाँ लाइसेन्स दिने तयारी सुरु गरेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल र बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको सेटिङमा नयाँ जीवन बीमा र निर्जिवन बीमा कम्पनी दर्ता गर्ने प्रयास बीमा समितिमार्फत अघि बढेको हो ।
उच्च स्तरीय स्रोतका अनुसार वर्तमान सरकार एक महिनाभित्रैमा ढलेको अवस्थामा पनि नयाँ जीवन र निर्जिवन बीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्ने कार्य पूरा गर्ने अर्थमन्त्रीको चाहना र योजना पूरा गर्न बीमा समितिले प्रयास अघि बढाएको छ । स्रोत अनुसार यस पटक अर्थले गरेको सेटिङको आधारमा नयाँ बीमा कम्पनीले लाइसेन्स पाउने बताइएको छ ।
स्रोतका अनुसार १० जना नयाँ बीमा कम्पनी दर्ता गर्न सकिने भन्दै बीमा समितिभन्दा बाहिर चलखेल भइरहेको छ । केही कम्पनीहरुले शेयर बापतको रकम समेत उठाउन थालिसकेको खवर छ । लाइसेन्स पाउनेमा पहिलो सूचिमा यसअघि पुनर्बीमा कम्पनीको लाइसेन्स नपाएर थन्किएका चार कम्पनीलाई रोजेको लाईफ वा नन लाइफको लाइसेन्स दिने गरी प्रक्रिया अघि बढाउने योजनामा बीमा समिति रहेको छ । चौधरी समुहको स्ट्यान्डर्ड लाइफ, हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ता सम्मिलित युनी लाइफ, शुभलक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि लाइसेन्स पाउने दौडमा सहभागी छ ।
हाल नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनी २० वटा निर्जिवन बीमा कम्पनीहरुका बीचमा नै अस्वस्थ प्रतिस्पर्धा भई कम्पनीहरु नै मर्जरमा जानुपर्ने अवस्थामा नयाँ कम्पनी थप भएका सिंगो बीमा व्यवसाय धरासायी हुने सञ्चालनमा रहेका बीमा कम्पनीहरुको भनाई छ । नयाँ कम्पनी दर्ता गर्न लागेको सन्दर्भमा बीमा कम्पनीहरुको औपचारिक धारणा बाहिर आइसकेको छैन ।