बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रमा प्रवाहित कर्जा २३ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?

१ असार २०७८, मंगलवार १४:४०

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव १ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा२०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीयसंस्थाहरुबाट निजी क्षेत्रतर्फ  प्रवाहित कर्जा २४ दशमलव ८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्येवाणिज्य बैंकहरुको कर्जा प्रवाह २४.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५ दशमलव ३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ८ दशमलव ६ प्रतिशतले बढेको छ ।

२०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५ दशमलव ९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव ४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ बैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५ दशमलव ४ प्रतिशत र १३ दशमलव २ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३८ दशमलव ३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७ दशमलव ४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १५ द शमलव १ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४ दशमलव ६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २२ दशमलव ५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १७ दशमलव ६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४ दशमलव ६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २७ दशमलव ७ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २० दशमलव ८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घरकर्जा समेत) ११ दशमलव ४ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७ दशमलव २ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ४६ दशमलव ५ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५ दशमलव ४ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*