११ बीमा कम्पनीको कारोबार धितोपत्र बोर्डको निगरानीमा (सूचिसहित)

२ असार २०७८, बुधबार ०८:११

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालमा सञ्चालित ११ वटा बीमा कम्पनीको दोस्रो बजारमा भइरहेको शेयर कारोबार निगरानीमा राखिएको जनाएको छ । बोर्डले हिजो सार्वजनिक गरेको ५१ वटा सम्भावित जोखिमयुक्त कम्पनीहरुको सूचिमा ११ वटा बीमा कम्पनीहरु परेका छन् ।

बोर्डले सार्वजनिक गरेको जोखिमयुक्त सूचिमा पाँच वटा जीवन बीमा कम्पनी, पाँच वटा निर्जिवन बीमा कम्पनी र एक वटा पुनर्बीमा कम्पनी परेको छ । बोर्डले प्रतिशेयर नेट वर्थ भन्दा बढि शेयर मूल्य भएका, प्रति शेयर आम्दानी ऋणात्मक भएका र ३०० प्रतिशतभन्दा बढिले मूल्यबृद्धि भएका कम्पनीहरु छनौट गरी सुक्ष्म विश्लेषण गर्दा ५१ वटा कम्पनीहरु समेटिएको र सो मध्येमा ११ वटा बीमा कम्पनी परेको जनाएको छ ।

बोर्डले ति कम्पनीहरुको शेयर कारोबार निगरानीमा राखेर अध्ययन भइरहेको समेत जनाएको छ । धितोपत्र बोर्डले सार्वजनिक गरेको सूचिमा परेका बीमा कम्पनीहरुको आन्तरिक कारोबार निगरानीमा राखेको भने होइन । ति कम्पनीहरुका दोस्रो बजारमा भइरहेको शेयर कारोबार, कर्नरिङ भएको हो वा होइन, भएको भए को को संलग्न छन् जस्ता विषयमा निगरानी राखेको हो । अस्वाभिक मूल्यबृद्धि, चलखेल रोक्न यस्तो कार्य गरिएको धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले जानकारी दिए ।

बोर्डका निगरानीमा परेका बीमा कम्पनीहरु
१. एशियन लाइफ इन्स्योरेन्स
२. गुराँस लाइफ इन्स्योरेन्स
३. लाइफ इन्स्योरेन्स कम्पनी
४. नेपाल लाइफ इन्स्योरेन्स
५. रिलायन्स लाइफ इन्स्योरेन्स
६. अजोड इन्स्योरेन्स
७. आइएमई जनरल इन्स्योरेन्स
८. राष्ट्रिय विमा कम्पनी
९. सानिमा जनरल इन्स्योरेन्स
१०. युनाइटेड इन्स्योरेन्स
११. नेपाल पुनर्विमा कम्पनी

निगरानीमा परेका बीमा कम्पनी मध्ये राष्ट्रिय बीमा कम्पनी सबैभन्दा बढि जोखिममा परेको नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । सो तथ्याङ्क अनुसार राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर कूल सम्पत्तिको मूल्य १२६३.३८ रहेकोमा बजारमा उक्त कम्पनीको शेयर २२ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको शेयर प्रतिशेयर नेटवर्थको भन्दा १६७६% बढि मूल्यमा दोस्रो बजारमा कारोबार भइरहेको अध्ययनले देखाएको छ । त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ भन्दा ६७८% प्रतिशत बढि मूल्यमा शेयर कारोबार भइरहेको बोर्डको अध्ययनले देखाएको छ । त्यस्तै आईएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य प्रतिशेयर नेटवर्थको तुलनामा ६८४ प्रतिशतले बढि मूल्यमा दोस्रो बजारमा कारोबार भइरहेको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार प्रतिशेयर नेटवर्र्थ भन्दा ११०३ प्रतिशतले बढि मूल्यमा दोस्रो बजारमा कारोबार भइरहेको पाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*