नेपाल लाइफको शेयर खण्डिकरण गर्ने प्रस्ताव बीमा समितिबाट अस्वीकृत

३ असार २०७८, बिहीबार ०८:४०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता १०० रुपैयाँबाट प्रतिकित्ता ५० रुपैयाँ चुक्ता पुँजि कायम गरी दुई भागमा खण्डिकरण गर्ने सो कम्पनीको सञ्चालक समितिको निर्णय बीमा समितिबाट अस्वीकृत भएको छ ।

कम्पनी ऐन अनुसार शेयर खण्डिकरण गर्ने प्रयास गरिएको भएपनि नियामक निकाय बीमा समितिले गलत संस्कार विकास हुने भन्दै खण्डिकरण रोकिदिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सो कम्पनीको शेयर खण्डिकरण गर्ने प्रस्ताव अस्वीकृत गरिएको जानकारी दिए ।

अपवाद बाहेक प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयर कारोबार गर्ने चलन चलेको नेपालमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँको शेयरलाई ५० रुपैयाँ कायम गरी दोब्बर शेयर बनाउने प्रस्ताव गरेको थियो । कम्पनीमा लगानी बृद्धि नहुने, कुनै पनि कोणबाट बीमित र लगानीकर्ता कसैलाई पनि लाभ नहुने शेयर खण्डिकरणलाई बीमा समितिले रोकेको हो । बीमा समितिले शेयर खण्डिकरण गर्न कुनै पनि कम्पनीलाई नदिइने प्रष्ट पारेको छ ।

हाल सात अर्ब १९ करोड ९९ लाख ७० हजार ६०१ रुपैयाँ चुक्ता पुँजि रहेको कम्पनीमा कूल सात करोड १९ लाख ९९ हजार ७०६ कित्ता शेयर छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालै सम्पन्न साधारण सभाले ३१ प्रतिशत बोनस शेयर बापतको रकम कम्पनीले आफ्नो पुँजिमा थप गरिसकेको छ । शेयर खण्डिकरण गर्न अनुमति दिएको भए, चुक्ता पुँजि सोही नै कायम भई शेयर संख्या भने १४ करोड ३९ लाख ९९ हजार ४१२ कित्ता शेयर कायम हुने थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*