१६६ दिनमा मानिसको २० लाखको मृत्यु, कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा बढि
४ असार २०७८, शुक्रबार ०७:१७

काठमाडौं । सन् २०१९ को डिसेम्वरबाट सुरु भएको कोरोना भाइरसको महामारीमा विश्वभर हालसम्म ४० लाख जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । संक्रमण र मृत्यु बढ्दै जाँदा खोपको प्रयोग भइरहेको भएपनि अझै प्रभावकारी नतिजा दिन सकिरहेको छैन ।

कोरोना भाइरसको संक्रमण तथा मृत्यु सम्बन्धी तथ्याङ्क राख्दै आएको वल्र्डमिटरर्स डटकमका अनुसार १७ करोड ८१ लाख ८३ हजार ६३८ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । सो संस्थाले आफ्नो वेभसाइटमा हालसम्म जम्मा ३८ लाख मानिसको मृत्यु भएको उल्लेख गरेको छ । प्रतिष्ठित अन्तर्राष्ट्रय सञ्चार माध्यम रोयटर्सले भने १८ जुनका दिन अर्थात आज विश्वभर मृत्यु हुनेको संख्या ४० लाख पुगेको जनाएको छ ।

कोरोना भाइरसको दोस्रो लहरका कारण पछिल्लो १६६ दिनमा विश्वभर २० लाख मानिसकाके मृत्यु भएको रोयटर्सको दावी छ । सो मध्ये अमेरिका, रसिया, ब्राजिल, भारत र मेक्सिकोमा विश्वभर मृत्यु हुनेहरुको संख्याको आध रहेको समेत उल्लेख गरिएको छ ।

कोरोना भाइरसबाट अमेरिकामा मात्रै छ लाखभन्दा बढि मानिसको ज्यान गएको छ । त्यसैगरी, ब्राजिलमा पाँच लाख, भारतमा करिब चार लाख, मेक्सिको दुई लाख ३० हजार मन्दा बढिको मृत्यु भएको छ । पेरु, रसिया, बेलायत र इटाली लगायतका देशहरुमा एक लाख भन्दा बढि मानिसको ज्यान गइसकेको कोरोना भाइरस अझै कहिले नियन्त्रणमा आउँछ भनेर भन्न सकिने अवस्था छैन ।

दोस्रो लहरले पछिल्लो १६६ दिनमा २० लाख मानिसको मृत्यु भएको घटना सार्वजनिक भएपछि अब तेस्रो लहरले कस्तो प्रभाव पार्ला भन्ने त्रास उत्पन्न भएको छ । भाइरस समेत नयाँ नयाँ भेरियन्ट आउने र खोपले समेत काम नगर्ने अवस्थाले कोरोना भाइरससँगको सामना अझै चुनौतिपूर्ण रहेको रोयटर्सले विश्लेषण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*