जीवन बीमा पोलिसी किन्न हतारिँदै भारतीय युवा, कोरोनाले जगायो बीमा जनचेतना

‘लत्ता कपडा, खाना, घर पछाडि भारतीय मध्यम बर्गीय जनताको चौथो पिल्लरको रुपमा बीमा बन्न पुगेको छ ।’
रोयटर्स
४ असार २०७८, शुक्रबार ०८:५८

बैंगलोर भारत । कोरोना महामारीमा आफैले मृत्यसँग संघर्ष गर्नुअघि वेभेर्ली काउटिन्होले सधैं जीवन बीमा पोलिसी खरिद गर्ने कुरालाई पर सार्दै आएका थिए । ‘मैले मेरै उमेर उमेरका मानिसहरुको मृत्यु भएको देखे, त्यसले मलाई तत्काल जीवन बीमा पोलिसी खरिद गर्न उत्प्रेरणा गर्यो’, २४ बष्यिि काउटिन्होले मुम्बईस्थित एक बीमा एजेन्सीको कार्यालयमा भने, मलाई केही भइहालेको अवस्थामा मेरो परिवारलार्ई रकम अभावमा छटपटाएको महसुस गराउन चाहिन ।’

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या आधिकारिक रुपमा तीन लाख ८० हजार नाघेपनि सो बाहेक अन्य हजारौं मानिसहरु परिक्षण बिना नै ज्यान गुमाइसकेको अनुमान छ ।

जब भारतमा कोरोनाको दोस्रो लहर डरलाग्दो तरिकाले बढ्यो, तब त्यहाँका २५ देखि ३५ वर्षका युवाहरु जीवन बीमा पोलिसी खरिद गर्न हतारिएका छन् । एक तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा भारतमा जीवन बीमा व्यवसाय अहिले ३० प्रतिशतले बृद्धि भएको, भारतीय अनलाईन बीमा एग्रिगेटर पोलिसीबाजारले जनाएको छ ।

म्यादी बीमा खरिद गर्नेहरुको संख्या झनै ह्वात्तै बढेको तथ्याङ्क छ । अनलाईन इन्स्योरेन्स एग्रिगेटर इन्स्योरेन्स देखोका अनुसार गत मेको तुलनामा जुनमा ७० प्रतिशतले बीमा पोलिसी बिक्री बढेको जनाएको छ । यद्यपि कति पोलिसी बिक्री भयो भन्ने यकिन तथ्याङ्क बाहिर आएको छैन तर अनौपचारिक स्रोतहरुले धेरै हजार रहेको जनाइएको छ ।

‘अहिलेको महामारीले वित्तीय सुरक्षाको आवश्यकता र बीमा पहुँचको अभावको विषयमा धेरै नै सचेतना जगाउन उल्लेखनीय भूमिका खलेको छ’ एचडिएफसी जीवन बीमा कम्पनीका प्रमुख वित्त अफिसर निरज शाहले भने । एचडिएफसी जीवन बीमा कम्पनीमा ३५ वर्र्ष मुनिका मानिसहरुले महामारीको पछिल्लो १५ महिनामा धेरै नै जीवन बीमा पोलिसी खरिद गरेको जानकारी दिए ।

कोरोना महामारीको दोस्रो लहरमा जीवन बीमा पोलिसीबारे जानकारी लिन चाहनेहरुको संख्या रकेटको गतिमा बृद्धि भएको बीमा क्षेत्रका उच्च अधिकारीहरुले जनाएका छन् । तेस्रो लहरका त्रास हुँदा समेत पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसक्नु अर्को कारण हुनसक्छ ।

जीवन शैली परिवर्तन
शेयर बजारका लगानीकर्ताहरु अन्योलमै छन् कि हालको महामारीमा जीवन बीमा कम्पनीहरुको शेयर खरिद गर्नु सुरक्षित लगानी हो ? नेशनल स्टक एक्सचेन्ज अफ इण्डियाको एनएसई निफ्टी ५० इन्डेक्स १३.५ प्रतिशतले बृद्धि हुँदा एचडिएफसी जीवन बीमा कम्पनीको शेयर मूल्य जम्मा २ प्रतिशतले मात्रै बृद्धि भएको छ । तर, अर्को जीवन बीमा कम्पनी एसबीआई लाइफको शेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ भने आईसिआईसिआई प्रुडेन्सियल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १८ प्रतिशतले बृद्धि भएको छ ।

‘जीवन बीमा क्षेत्रमा आएको जनचेतनाले बीमा कम्पनीहरुको शेयरमा दीर्घकालिन लगानीबारे सोच्न सकिन्छ, तर कोरोना भाइरसको पहिलो र दोस्रो लहरसँगै बीमा दावी बढेकोले चिन्ता पनि बढेको छ’, एसएमसी ग्लोबल सेक्युरिटिज, नयाँदिल्लीका सहायक उपाध्यक्ष सौरभ जैनले भने ।

बीमाको पहुँच परम्परागत र कमजोर, जीवन बीमा व्यवसायमा ठोस संख्यामा बृद्धि हुन नसकिरहेको सन्दर्भमा भारतको मध्यम बर्गीय परिवारको जीवन शैलीमा परिवर्तन आइरहेको छ ।

‘लत्ता कपडा, खाना, घर पछाडि भारतीय मध्यम बर्गीय जनताको चौथो पिल्लरको रुपमा बीमा बन्न पुगेको छ ।’ इन्स्योरेन्स देखोका संस्थापक कार्यकारी निर्देशक अंकित अग्रवालले भने ।

सन् २०१९ को तथ्याङ्क अनुसार भारतमा जीवन बीमाको पहुँच जम्मा २.८२ प्रतिशत छ । जबकि सन्, २००१ मा २.१५ प्रतिशत रहेको बीमा नियमन तथा विकास प्राधिकरणले जनाएको छ ।

विश्वमा बीमाको पहुँच ३.३५ हुँदा भारतमा बीमाको पहुँच सो भन्दा निकै कम छ । भारतको एक अर्ब ३५ करोड जनता मध्ये धेरैसँग जीवन बीमाको लागि तिर्नुपर्ने बीमा शुल्क समेत आम्दानी गर्न असक्षम छन् । यसले गर्दा कोरोना महामारीको समयमा आर्थिक संकट झनै बढ्न गएको छ ।

म्यादी बीमा योजना भारतमा धेरै लोकप्रिय बन्दै गइरहेको छ । सस्तो बीमा शुल्कका कारण आफ्नो मृत्यपछि आफ्ना परिवार तथा आफूमा आश्रित परिवारको हितका लागि म्यादी बीमामा आकर्षण धेरै नै बृद्धि भइरहेको छ । साथै स्वास्थ्य उपचार खर्च व्यहोर्ने बीमा पोलिसीहरुप्रति पनि भारतीय जनताको आकर्षण बृद्धि भइरहेको छ ।

बीएनपी परिवास भारतका सिनियर वित्त विश्लेषक अब्निश सुखजितले भने ‘यदि कसैले बीमा पोलिसी खरिद गर्ने सोचिरहेको छ भने उनीहरुले अहिले नै किनिरहेका छन् ।’ (रोयटर्सबाट भावानुवाद)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*