तेस्रो वर्षमा निर्मा, जोखिम व्यवस्थान, बीमा र सामाजिक सुरक्षा सम्बन्धी एकीकृत रणनीति बनाउन आह्वान

४ असार २०७८, शुक्रबार ०९:२५

काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (निर्मा) आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । बीमा तथा जोखिमको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहस पैरवी गर्ने तथा सो सम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले बीमा क्षेत्रमा कार्यरत बिज्ञहरुले संस्थापन गरेको निर्मा आज दुई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको हो ।

तेस्रो बार्षिकोत्सवको अवसरमा निर्माका अध्यक्ष डा. रविन्द्र घिमिरेले बीमा, जोखिम व्यवस्था र सामाजिक सुरक्षामा एकीकृत राष्ट्रिय रणनीति निर्माण गरेर अघि बढ्न सबैलाई आह्वान गरेका छन् । अध्यक्ष घिमिरले तेस्रो बार्षिकोत्सवको अवसरमा बीमा तथा जोखिम व्यवस्थापन बहस पैरवी गर्ने, सरोकारवालाहरुसँग सहकार्य गर्दै अभियान चलाउने प्रतिबद्धता  जनाएका छन् ।

अध्यक्ष घिमिरेले भने ‘आगामी वर्ष बीमाको क्षेत्रमा काम गर्ने, शैक्षिक, व्यवसायिक क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने, नीतिगत बहस र पैरवी गर्ने र त्यसको लागि सबै निकायमा सुझावसहित प्रस्तुत हुने छौं ।’ प्रदेशहरु स्थानीय सरकारमा बीमा र जोखिमका बारेमा जनचेतना जगाउन आवश्यक रहेको भन्दै अध्यक्ष डा. घिमिरेले सबै अभियान्ताहरुलाई देशव्यापी अभियान सुरु गर्न आह्वान गरेका छन् । स्थानीय सरकार र प्रदेश सरकार र संघघीय सरकार तीन वटै सरकारलाई बीमा र जोखिम व्यवस्थापन र सामाजिक उत्तर दायित्वको बारेमा सम्झाउन आवश्यक भएको बताउँदै अध्यक्ष डा. घिमिरेले बाढी पहिरो, महामारीले बीमा, जोखिम र सामाजिक उत्तर दायित्वबीचमा एकीकृत योजना बनाउन आवश्यक रहेको बताए ।

नेपालमा जोखिम व्यवस्थापन, बीमा र सामाजिक सुरक्षाको क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने, तालीम, सम्मेलन र कन्फरेन्सहरु गर्ने, नीतिगत बिषयमा सम्बन्धित निकायहरुलाई सुझाव दिने, जनचेतना अभिबृद्धिको लागि काम गर्ने उद्देश्यका साथ नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ मूनाफा वितरण नगर्ने च्यारिटी संस्थाको रुपमा कम्पनी ऐन अन्तर्गत २०७६ आषाढ ४ गते स्थापना भएको थियो । यसको कार्यक्षेत्र नेपाल भित्र मात्रै रहेको भएता पनि विश्वका महत्वपूर्ण संस्थाहरुसंग सहकार्य र ऐक्यबद्धताका साथ अघि बढेको छ । संस्थाको मुल नारा ‘व्यवसायिकतासहित बीमा क्षेत्रको संवद्र्धन गरौं’ रहेको छ भने मुल क्रियाकलापहरुमा अुनसन्धान, प्रकाशन, तालीम, सेमिनार, पोलिसी पैरबी र सचेतना रहेका छन् ।

संस्थाले स्थापना कालदेखि नै “Nepalese Journal of Insurance and Social Security” नामक अनुसन्धानमूलक जर्नलको प्रकाशन बार्षिक रुपमा गर्दैै आएको छ र हाल सम्म तीन अंकहरु प्रकाशित भई संस्थाको वेभ पेजमा राखिएको छ र निःशुल्क रुपमा डाउनलोड गर्न सकिन्छ । यस जर्नलको प्रमुख सम्पादकमा प्रा.डा. फत्त बहादुर केसी रहनु भएको छ भने सम्पादकको रुपमा नेपाल, भारत र अर्मेनियन बिश्वविद्यालयका प्राध्यापकहरु हुनुहुन्छ । त्यस्तै जर्नलको सल्लाहकार बोर्डमा नेपाल, अमेरिका, चीन, स्वीट्जरल्याण्ड, कोरिया, भारत र बंगलादेशका लब्ध प्रतिष्ठित प्राध्यापक तथा प्रोफेसनलहरु आवद्ध छन् ।

बार्षिकोत्सवको अवसरमा निर्माले आज अपरान्ह ३ः३० बजेदेखि भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्दैछ । बीमा समितिका पूर्व अध्यक्ष तथा निर्माका सल्लाहकार प्रा.डा. फत्त बहादुर केसीको प्रमुख आतिथ्यमा बीमा सम्बन्धी बहस र अन्तरक्रिया हुन लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*