बीमाबारे अध्ययन, अनुसन्धान र छलफलको दायरा विस्तार गर्न आह्वान

४ असार २०७८, शुक्रबार १७:४३

काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (निर्मा) को बार्षिकोत्सव सम्पन्न भएको छ । डिजिटल माध्यमबाट जुममार्फत अन्तरक्रिया कार्यक्रमको आयोजना गरी बीमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि तथा निर्माणका सल्लाहकार एवम् बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा. फत्त बहादुर केसीले निर्मा बीमा क्षेत्रमा अध्ययन, अनुसन्धान, छलफल गर्ने प्लेटफर्म भएको भन्दै सबैले मिलेर सहकार्य गर्न आह्वान गरेका छन् । उनले निर्मालाई सबैले सहयोग गरेर स्रोतहरु जम्मा गर्न सकेमा बीमा क्षेत्रको गरिमा र प्रतिष्ठा बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । निर्माको जर्नलले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात बन्दै गइरहेको बताउँदै प्रा.डा. केसीले बीमा सम्बन्धी अन्तरक्रिया, छलफलहरु जारी राख्नुपर्ने बताए । सबै मिलेर सहकार्य गर्दै र सामूहिक प्रयत्नमार्फत अघि बढ्न आह्वान गरेका छन् ।

बार्षिकोत्सव कार्यक्रममा नेपाल जीवन बीमक संघका उपाध्यक्ष पोषक पौडेलले निर्माले ज्ञान हस्तान्तरणमा भूमिका खेलेको चर्चा गर्दै आगामी दिनमा जोखिम व्यवस्थापन सम्बन्धी कार्यमा सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् । निर्माको तेस्रो बार्षिकोत्सवको अवसरमा शुभकामना मन्त्व्य व्यक्त गर्दै संघका उपाध्यक्ष पौडेलले नेपालमा सम्पत्ति व्यवस्थापन सम्बन्धी काम सहज भएपनि जोखिम व्यवस्थापनमा अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

त्यस्तै, नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले बीमा क्षेत्रमा हुने नकारात्मक कुराहरुलाई निरुत्साहित गर्दै बीमाको पहुँच बृद्धि गर्न भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा संघका सचिव क्षेत्रीले नेपालमा बीमाको पहुँच २६ प्रतिशतमा पुग्नु सकारात्मक रहेको बताउँदै समस्याहरु समाधान गर्दै अनुसन्धानमा तथा विकासमा ध्यान दिनुपर्ने बताए ।

स्कूल अफ एक्चुरियल साइन्सका निर्देशक नारायण पहारीले एक्चुरियल साइन्समा स्नातकोत्तर तहको अध्यापन सुरु गर्ने योजनामा आफूहरु रहेको जानकारी दिँदै अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास गर्न कठिनाइ भइरहेको गुनासो गरेका छन् ।

निर्माका अध्यक्ष डा. रविन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा बीमित हित संघका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारी, आर्थिक पत्रकारहरुले आफ्ना धारणासहित निर्मालाई शुभकामना व्यक्त गरेका िथए ।
कार्यक्रमलाई सम्बोधन गर्दै निर्माका अध्यक्ष डा. रविन्द्र घिमिरेले आगामी दिनमा एकताबद्ध ढंगले अघि बढ्ने बताए । ‘सबैको बीमा गरौं, बीमाले नै हाम्रो संरक्षण गर्दछ भन्ने सन्देश गाउँ गाउँमा पुर्याऔं र बीमाको श्रीबृद्धिका लागि काम गर्न आह्वान गर्दछु, अध्यक्ष डा. घिमिरेले भने ।

कार्यक्रम निर्माका कोषाध्यक्ष सुकल्याण पराजुलीले संयोजन गरेका थिए ।

One thought on “बीमाबारे अध्ययन, अनुसन्धान र छलफलको दायरा विस्तार गर्न आह्वान

  1. Rabindra Ghimire says:

    Thank you for the coverage of program

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*