आईपिओ भर्न भ्याईनभ्याई हुँदै, पाँच अर्बको आईपिओ पाइपलाइनमा, दुई बीमासहित १७ कम्पनीको आईपिओ आउँदै

५ असार २०७८, शनिबार १०:२८

काठमाडौं । निषेधाज्ञा केही खुकुलो हुने वित्तिकै प्राथमिक शेयर (आईपिओ) भर्न सर्वसाधारणलाई भ्याई नभ्याई हुने भएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिई आपिओ निष्काशनको अन्तिम तयारीमा दुई बीमा कम्पनीसहित १७ कम्पनी रहेका छन् । सो मध्ये केही जल विद्युत कम्पनीहरुको आईपिओ ढिलाई हुनसक्ने देखिएको छ ।

आवेदन दिएका मध्ये जनविकास लघुवित्त कम्पनीले हालै मात्रै अनुमति पाइसकेकोल आगामी असार ११ गतेदेखि आईपिओ बिक्री खुल्ला गरिसकेको छ । सेबोनबाट निषेधाज्ञाअघि आवदेन दिएका दुई कम्पनीले आईपीओको अनुमति पाइसकेका छन् । लकडाउनकै बीचमा पाँच कम्पनीले यसका लागि निवेदन दिएका छ । साथै केही बीमा कम्पनीहरुको प्रक्रिया पूरा भइसकेकोले छिट्टै आवेदन दिने तयारीमा रहेका छन् ।

आईपिओ जारी गर्न अन्तिम अवस्थामा पुगेका १२ कम्पनीलाई सेबोनले सेयर निष्कासन अनुमति दिई आईपिओ जारी हुँदासम्म कम्तीमा थप पाँच कम्पनी आईपिओको लागि योग्य हुनेछन् । यस आधारमा आगामी दुई महिना आईपिओ मय हुने देखिएको छ । उक्त अवधीका लागि पाँच करोड ७१ लाख कित्ता आईपिओ जारी हुनेछ ।

निषेधाज्ञाअघि नै एक अर्ब ५० करोड रुपैयाँबराबरको एक करोड ५० लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको मध्यभोटेकोशी जलविद्युत आयोजनाको आईपीओ जारी नहुँदै जीवन विकास लघुवित्तले ६० करोड ८४ लाख रुपैयाँबराबरको ६० लाख ४८ हजार कित्ता सेयरको प्राथमिक निष्कासन गर्ने अनुमति हालै पाएको छ । अहिले बोर्डबाट अनुमति पाएर आईपिओ जारी गर्ने प्रतिक्षामा रहेका दुई करोड १० लाख कित्ता आईपिओ छ । मध्य भोटेकोशीको आईपिओ निषेधाज्ञा सकिएपछि मात्रै खुल्नेछ भने जीवन विकासको खुल्ला भइसकेको छ ।

आईपिओको पाइपलाइनमा दुई जीवन बीमा कम्पनी युनियन लाइफ र सानिमा लाइफ रहेका छन् । पाइपलाइनमा रहेका यी कम्पनीमध्ये बीमातर्फ युनियन लाइफले सबैभन्दा बढी कित्ता सेयर निष्कासनको तयारी गरेको छ । युनियनले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्दैछ । त्यस्तै, सानिमा लाइफ इन्स्योरेन्सले पनि ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गर्दैछ ।

त्यस्तै, मानुषी लघुवित्तले पनि तीन करोड ९३ लाख ७० हजार ५०० रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता सेयर जारी गर्नका लागि बोर्डमा निवेदन दिएको छ । आईपीओको पाइपलाइनमा रहेका जलविद्युत कम्पनीहरुमा दोर्दी खोला जलविद्युत २९ करोड ५० लाख रुपैयाँ र माथिल्लो हेवा खोला जलविद्युतले २० करोड रुपैयाँबराबरको २० लाख कित्ता सेयर निष्कासन गर्दैछ ।

त्यस्तै, आईपिओको लागि बोर्डमा आवेदन दिने कम्पनीहरुमा साहस ऊर्जा (एक करोड पाँच लाख कित्ता), सयपत्री हाइड्रोपावर (९ लाख कित्ता), माथिल्लो सोलु (३३ लाख सात हजार पाँच सय कित्ता), ग्रीन भेन्चर हाइड्रोपावर (६२ लाख ५० हजार कित्ता) र डिस मिडिया नेटवर्क (२३ लाख ८५ हजार ९२९ कित्ता) रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*