जीवन बीमालेख पोलिसी सम्बन्धी निर्देशिकाबारे बीमा कम्पनीहरु अन्योलमा

२८ असार २०७८, सोमबार १२:४६

काठमाडौं । बीमा समितिले जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ ले जीवन बीमालेखको समर्पण मूल्य प्रदान गर्न तीन वर्ष पुग्नै पर्ने सम्बन्धी व्यवस्थाबारे अन्योलता सिर्जना गरेको छ ।

बीमा समितिले स्पष्ट रुपमा उल्लेख नगरेका कारण करार सम्झौताको आधारमा चल्ने जीवन बीमा व्यवसायमा अन्योलता सिर्जना भएको हो । जीवन बीमा पोलिसीमा बीमा समितिले पुरानो व्यवस्थामा रहेको दुई वर्षपछि मात्रै समर्पण मूल्य पाउने व्यवस्था संशोधन गर्दै ३ वर्ष पुर्याउने निर्णय यही असार २३ गते जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ मा उल्लेख छ । नयाँ निर्देशिका जारी हुनुभन्दा अगाडि जारी भएका सबै बीमालेखहरुमा दुई वर्षमा समर्पण मूल्यमा पाउने कुरा बीमा पोलिसीमा करारको रुपमा बीमक कम्पनीहरुले बीमितसँग सम्झौता गरिसकेको छ ।

बीमा समितिले जारी गरेको नयाँ निर्देशिका अनुसार असार २३ गते साँझ वा सो भन्दा पछाडि जारी भएका निर्देशिकाको हक मात्रै तीन वर्षपछि मात्रै समर्पण मूल्य पाउने उल्लेख हुने हुँदा यसअघि जारी भएका सबै बीमा पोलिसीले दुई वर्ष पूरा भएपछि समर्पण मूल्य पाउने बीमा समितिकै अधिकारीहरुको भनाई छ । तर, बीमा समितिले लिखित रुपमा निर्देशन नदिएको कारण बीमा कम्पनीहरु अन्योलमा परेर असार २४ गतेपछि जारी भएका सर्कुलरहरुमा अब जारी हुन र पूर्व जारी भइसकेका तथा हाल कायम सबै बीमा पोलिसीहरुमा तीन वर्षपछि मात्रै समर्पण मूल्य पाउने भन्दै सर्कुलर गरिरहेका छन् । बीमा समितिको निर्देशनमा स्पष्ट रुपमा उल्लेख नभएका कारण बीमा कम्पनीहरु अन्योलमा परी जोखिम लिन नचाहेका कारण हाल कायम सबै बीमा पोलिसीहरुमा यस्तो व्यवस्था लागू गरिएको एक बीमा कम्पनीका सिईओले बीमापोष्टलाई जानकारी दिए ।

जीवन बीमा कम्पनीहरुमा उत्पन्न अन्योलताबारे बीमा समितिका उच्च अधिकारीले भने बीमा करार कानुन भएकोले करार बमोजिम हुने भन्दै थप निर्देशन नदिइएको दावी गरेका छन् । बीमा समिति कानुन बमोजिम हुन्छ भन्दै मौन बस्ने र बीमा कम्पनी अन्योलमा परेर बीमितलाई अप्ठेरो पार्ने काम भइरहँदा समेत सबै पक्ष मौन रहनु आश्चर्यको विषय बन्न पुगेको छ ।

नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुले हाल कायम बीमा पोलिसीहरु तीन वर्ष पूरा भएपछि मात्रै समर्पण मूल्य पाउने भन्दै परिपत्र गरिहेका छन् । केही कम्पनीहरुले बीमा समितिको थप स्पष्ट निर्देशन आउने अपेक्षामा कुरेर बसेको भएपनि आइतबार समेत कुनै निर्देशन नआएपछि सोही व्यवहोराको सर्कुलर पठाउन बाध्य भएको एक बीमा कम्पनीका उच्च अधिकारीले जानकारी दिए ।

जीवन बीमालेख सम्बन्धी निर्देशिका कार्यान्वयनमा उन्पन्न भएको दोहोरो बुझाईबारे बीमा समितिले औपचारिक रुपमा कुनै जानकारी गराएको छैन ।

One thought on “जीवन बीमालेख पोलिसी सम्बन्धी निर्देशिकाबारे बीमा कम्पनीहरु अन्योलमा

  1. Hari Narayan Mahato says:

    Yo sara sar galat ho nirdesika jari bhaeko miti dekhi matra lagu hunu parne ho. Tyo bhanda pahile ko police ma kunai pani halat lagu hunu hudai.

Leave a Reply to Hari Narayan Mahato Cancel reply

Your email address will not be published. Required fields are marked *


*