कोरोनाको त्रासबीच पाँच तारे होटलमा कार्यक्रम गर्दै बीमा समिति

२२ भाद्र २०७८, मंगलवार १२:५७

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारी नेपालमा अझै जारी छ । पूर्ण रुपमा मुक्त भइ नसकेको कोरोनाबाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भइसकेको छ । अझै पनि एक जीवन बीमा कम्पनीका सिईओ कोरोना भाइरसबाट पोजेटिभ भई आईसोलेशनमा छन् भने बीमा समितिकै उच्च् अधिकारी पनि कोरोना भाइरसबाट संक्रमण भई आईसोलेशनमा छन् ।

कोरोना भाइरसको त्रासदीपूर्ण अवस्थाका बीचमा बीमा समितिले भने लाखौं रुपैयाँ खर्च गरेर तारे होटलमा कार्यक्रम आयोजना गरेको छ । सञ्चार माध्यमलाई खवर नगरिएको गोप्य कार्यक्रममा जीवन बीमा कम्पनीका अध्यक्षहरुलाई उपस्थित हुन उर्दी जारी गरिएको एक बीमा कम्पनीका सिईओले बीमापोष्टलाई जानकारी दिए ।

बीमा समिति स्रोतका अनुसार आज अपरान्ह ४ बजे पाँच तारे होटल र्याडिसनमा जीवन बीमा कम्पनीका अध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ । बीमितहरुबाट उठाएको रकमबाट आन्तरिक खर्च व्यवस्थापन हुने बीमा समितिले कोरोना भाइरसको त्रासका बीचमा तारे होटलमा कार्यक्रम गर्नुको औचित्य पुष्टि गरेको छैन । बीमा समितिको कार्यालय रहेको कुपण्डोलस्थित हल र बीमा समितिकै शेयर रहेको नेपाल इन्स्योरेन्स इन्टिच्यूटको हल हुँदा हुँदै तारे होटलमा कार्यक्रम गर्न लागिएकोमा बीमा क्षेत्रमा आश्चर्य व्यक्त गरिएको छ ।

कोरोना बीमाको अर्बौ रुपैयाँ भुक्तानी हुन नसक्दा लाखौं बीमितहरुले बीमा समिति र बीमा कम्पनीहरुप्रति गुनासो गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*