नेपाल लाइफको राष्ट्रिय सम्मान कार्यक्रम अभिकर्ता विवादमा कसरी मुछियो ? अन्य बीमा कम्पनीका अभिकर्ता किन पुगे ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही भदौं ३ गतेबाट शुरु गरेको पाँच दिने अभिकर्ता प्रशिक्षण तथा पुनर्ताजगी कार्यक्रमको शुरुकै दिनमा हिजो केही सामान्य विवादहरू उत्पन्न भएको छ । तर बाहिर हल्लाखल्ला भएजस्तै विवाद भएको भने होइन । कम्पनीले मान्यता नदिएको बीमा अभिकर्ता संघले आफ्नो अस्तित्वको लडाईं गर्न खोजेकोसम्म देखिएको छ । यद्यपि अहिले उक्त विवाद लगभग मिलिसकेको छ ।
नेपाल लाइफमा पेशागत बीमा अभिकर्ता संघ नेपालको बीमक शाखा कार्यालय छ । साथै यसअघिको अधिवेशनबाट विवाद भएपछि फुटेर बनेको नयाँ संस्था राष्ट्रिय पेशागत बीमा अभिकर्ता संघ नेपाल पनि भर्खरै गठन गरिएको छ । उक्त नयाँ संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ । तर कम्पनीले दुई वटा बीमा अभिकर्ता संस्थालाई मान्यता दिन नसक्ने स्पष्ट पार्दै मूल संस्थालाई नै मान्यता दिँदै आएको छ । अर्थात अर्को संगठनलाई औपचारिक मान्यता दिएको छैन ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उक्त कार्यक्रमका ताप्लेजुङदेखि दार्चुलासम्मका ६०० भन्दा बढी बीमा अभिकर्ताहरू सहभागी छन् । सयौं बीमा बीमा अभिकर्ता, कम्पनीका सञ्चालकदेखि मार्केटिङ विभागका कर्मचारीहरू सम्मिलित कुम्भ मेलामा बिथोल्ने प्रयास भएपछि सामान्य बल प्रयोग गर्नुपरेको कम्पनीले स्वीकार गरेको छ । एक अधिकारीले भने, “देशैभरीबाट बीमा अभिकर्ताहरूलाई भेला पारेर ऐतिहासिक कुम्भ मेला राष्ट्रिय सम्मान कार्यक्रम आयोजना गरिएको थियो । त्यहाँ बिथोल्ने प्रयास भयो भने पक्कै संस्थाको हितमा केही प्रयासहरू हुन्छ ।”
विवादको विषय पनि ठूलो थिएन । नयाँ गठन भएको संस्थाका अध्यक्षलाई उद्घोषकले सम्बोधन नगरेको र विभेद गर्नु नहुने र सम्बोधन गर्नुपर्ने मागदावी मात्र थियो । कृष्ण आचार्य अध्यक्ष रहेको उक्त संगठन पक्षका केही अभिकर्ताहरूले उक्त माग गरेका थिए । पूर्वनिर्धारित कार्यक्रम तालिकामा नभएकोले त्यसरी बीचबाट बोलाउन नसक्ने भन्दै उद्घोषकले भनेपछि संगठनमा आबद्ध भएका केही व्यक्तिहरूले आक्रोश र भडास एकैसाथ पोखे । त्यति बेलाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । सो परिस्थितिलाई उत्तिखेर नै नियन्त्रणमा लिएर अन्य सबै कार्यक्रमहरू सुचारु भइसकेको छ । आज दोस्रो दिन राष्ट्रिय सम्मान कार्यक्रम भव्य रूपमा चलिरहेको छ । बीमापोष्टलाई प्राप्त जानकारी अनुसार हिजो विरोधमा उत्रिएका केही अभिकर्ताहरूले आज सम्मान ग्रहण गरिसकेका छन् । अर्थात विवाद केहीहदसम्म मिलिसकेको छ । मूल विवाद नयाँ संगठनलाई पनि मान्यता दिनुपर्ने विषय भने अझै बाँकी छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ प्रविणरमण पराजुलीले कार्यक्रम अवधिभर शान्त वातावरणको लागि सुरक्षा निकायसँग सहयोग मागिएको र सो क्रममा दुई जना बीमा अभिकर्ताहरू प्रहरी कार्यालयमा पुर्याइएको थाहा पाउने बित्तिकै रिहा गरिदिन अनुरोध भए बमोजिम हिजो साँझ छुटिसकेको बताए । सीईओ पराजुलीले भने, “हिजोको घटना कम्पनी र व्यवस्थापकसँग सम्बन्धित नभएको र बीमा अभिकर्ताहरू बीचको असमझदारीले कम्पनीले आयोजना गरेको भव्य कार्यक्रम प्रभावितमा पार्न खोज्नु उहाँहरूकै त्रुटी हो । हामीले देशैभरीबाट बोलाएका बीमा अभिकर्ताहरूको तालिम, प्रशिक्षण कार्यक्रमस्थललाई उहाँहरूको झगडा गर्ने थलो बनाउनु हुदैनथ्यो ।” सीईओ पराजुलीले कम्पनीका उच्च व्यवस्थापकीय टीमले हप्तौं लगाएर तयारी गरिएको कार्यक्रममा सबै बीमा अभिकर्ताहरूले जिम्मेवार भएर सहयोग गर्नुपर्नेमा जोड दिए ।
सीईओ पराजुलीले भने, “हिजोका दिनमा आफैं सोही संस्थामा बस्दा कम्पनीले सम्बोधन गरेको र आज उहाँहरूले नयाँ कम्पनी खोल्ने बित्तिकै कम्पनीले पूर्ववत मान्यता दिएन भनेर अनावश्यक हल्ला र झुठो प्रचार गर्न हुदैनथ्यो । हामीले आज सहकार्य गरिरहेको अभिकर्ता संघमा हिजो उहाँहरू नै हुनुहुन्थ्यो, हामीले व्यक्ति होइन संस्थालाई मान्यता दिएका हौं । आज अर्को आउनुभयो, भोलि फेरि उहाँहरू नै आउनुहोला । त्यसमा हाम्रो केही भन्नु वा लेनादेना नै छैन ।”
कम्पनीका अनुसार दुई वटा बीमा अभिकर्ता संगठन मिलेर आउनुपर्नेमा कम्पनीको कार्यक्रमस्थलमा आएर झगडा गर्ने शैलीले शोभा नदिने स्पष्ट पार्दै आफू आबद्ध कम्पनीको वार्षिक कार्यक्रममा सहभागी भएर सफल पार्नु सबै बीमा अभिकर्ताहरूको दायित्व भएको सीईओले स्मरण गराएका छन् ।

यद्यपि अहिले उक्त विवाद लगभग धेरैहदसम्म मिलिसकेको छ । दोस्रो बीमा अभिकर्ता संघले अन्य बीमा कम्पनीबाट समेत अभिकर्ताहरू बोलाएर आफ्नो बल देखाउन खोजेपछि नेपाल लाइफको कार्यक्रममा देशैभरीबाट भेला भएका इमान्दार बीमा अभिकर्ताहरू आक्रोसित हुन पुगेका थिए । उद्घाटन सत्रमा केही असमझदारी भए तापनि तालिम, प्रशिक्षण तथा सम्मान कार्यक्रमको सत्रमा पुग्दा धेरै कुरा मिलिसकेको कार्यक्रममा सहभागी एक सदस्यले जानकारी दिए । कार्यक्रममा सहभागी एक सदस्यले बीमापोष्टसँग भने, “हिजो अलिकति मिस अण्डरस्ट्याण्डिङ भएको रहेछ, आज यथार्थ कुरा बुझिसकेपछि हिजो विरोध गर्ने साथीहरू पनि कार्यक्रममा सहभागी भइसक्नु भएको छ । हिजो विरोध गर्ने साथीहरूले आज सम्मान पत्र ग्रहण गरिसक्नु भएको छ अहिले सबै सामान्य भइसक्यो ।”
उता आन्दोलतमा उत्रिएको नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका अध्यक्ष राजेन्द्र अमात्यले आज काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा वार्षिक ५५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्ने बीमा अभिकर्ताहरूलाई सहभागी गराएर नेपाल लाइफले कार्यक्रम आयोजना गरेको र सो कार्यक्रममा हाम्रा साथीहरूलाई सम्बोधन नगरेकोले हाम्रा साथीहरूले संविधानप्रदत्त हक अधिकार विपरीत भेदभाव गर्न पाइँदैन भनेर आवाज उठाइएको बताए । अध्यक्ष अमात्यले कार्यक्रममा सुरक्षाकर्मी राखेर दमन गरिएको घटनाको निन्दा गर्दै संघले भोलिका दिनमा यस्तै कार्य गरेमा नसहने चेतावनी समेत दिए ।

यता पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष ओम केसीले आज एक विज्ञप्ति प्रकाशित गरी यही भदौ ३ गते काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित कार्यक्रम चलिरहेको बेला अर्को संगठनले अनावश्यक विवाद झिकेर सम्मानित कार्यक्रमलाई समेत बिथोल्ने उद्देश्य लिएर विरोध गरिएको आरोप लगाएका छन् । साथै सो संगठनले नेपाल लाइफको कार्यक्रममा अन्य बीमक कम्पनीका बीमा अभिकर्ताहरू समेत ल्याएर गरेको हुलहुज्जतजन्य कार्यको विरोध जनाएका छन् ।
उक्त संगठनले अन्य बीमक कम्पनीहरूबाट बीमा अभिकर्ताहरू भेला पारेर नेपाल लाइफको राष्ट्रिय सम्मान जस्तो गरिमामय कार्यक्रम भाँड्ने कार्यमा संलग्नमाथि कारवाही गर्न माग गरेको छ । स्रोतका अनुसार अन्य केही बीमा कम्पनीका बीमा अभिकर्ताहरू पनि उक्त कार्यक्रम स्थलमा पुगेका थिए । सो सम्बन्धमा कम्पनीको आधिकारिक धारणा भने आउन बाँकी छ ।









