निर्जीवन बीमा कम्पनीहरूको सञ्चित मुनाफामा ३४ प्रतिशत गिरावट, तीनको बढ्दा ११ को घट्यो (तथ्यांक सहित)

४ भाद्र २०८३, बिहीबार १३:४९

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएसँगै निर्जीवन बीमा क्षेत्रको सञ्चित मुनाफामा उल्लेख्य संकुचन आएको देखिएको छ। अघिल्लो आवको सोही अवधिको तुलनामा यस क्षेत्रको कुल सञ्चित मुनाफा ३४.३६ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ५ अर्ब १७ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीहरूको कुल सञ्चित मुनाफा यस वर्ष घटेर ३ अर्ब ३९ करोड ५१ लाख रुपैयाँमा सीमित हुन पुगेको हो।

रिटेन्ड अर्निङ अर्थात् सञ्चित मुनाफा कम्पनीले आर्जन गरेको मुनाफाबाट शेयरधनीलाई लाभांश तथा अन्य वितरण/विनियोजन पश्चात् बाँकी रही कम्पनीमै सञ्चित रहेको रकम हो। यस्तो रकम भविष्यमा व्यवसाय विस्तार, जोखिम व्यवस्थापन, पूँजी वृद्धि वा अन्य आवश्यकतामा प्रयोग गरिन्छ। यस अवधिमा सरकारी स्वामित्व समेत रहेको राष्ट्रिय बीमा कम्पनीले आफ्नो अग्रता कायम राख्दै सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको छ। यस कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा करिब ५ प्रतिशतले वृद्धि भई २ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

राष्ट्रिय बीमा कम्पनीबाहेक युनाइटेड अजोड इन्स्योरेन्स र ओरिएन्टल इन्स्योरेन्सको वित्तीय अवस्थामा पनि सुधार देखिएको छ। युनाइटेड अजोडको मुनाफा करिब २४ प्रतिशतले बढेर १४ करोड ३९ लाख रुपैयाँ पुग्दा अघिल्लो वर्ष ६ करोड ३० लाख रुपैयाँ घाटामा रहेको ओरिएन्टल इन्स्योरेन्सले यसपटक ४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएर सकारात्मक सुधार देखाएको छ।

यता सिद्धार्थ प्रिमियरको सञ्चित मुनाफा ५४ करोड ८२ लाख, नेको इन्स्योरेन्सको साढे ३६ करोड, सलिकोको ३४ करोड ७९ लाख, हिमालयन एभरेष्टको २७ करोड ४७ लाख, प्रभुको १० करोड ४१ लाख, सानिमा जीआईसीको ९ करोड ८७ लाख, शिखरको ७ करोड ९८ लाख, नेपाल इन्स्योरेन्सको ५ करोड ७३ लाख, आईजीआई प्रुडेन्सियलको १ करोड ८४ लाख र एनएलजी इन्स्योरेन्सको १ करोड १७ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन भएको छ।

यद्यपि अघिल्लो आवको तुलनामा कम्पनीहरूको मुनाफामा भने निकै ठूलो गिरावट आएको छ। विशेषगरी आइजीआई प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्सको मुनाफामा करिब ८८ र ८७ प्रतिशतको भारी गिरावट देखिएको छ। त्यसैगरी प्रभु इन्स्योरेन्सको नाफा ७५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ६४ प्रतिशत र शिखरको मुनाफा ६२ प्रतिशतले ओरालो लागेको छ।

नेको इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफामा पनि क्रमशः ५२ र ४५ प्रतिशतको गिरावट आएको छ। सानिमा जीआईसी इन्स्योरेन्सको नाफा ४२ प्रतिशतले घट्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को २४.९० प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुनाफामा ८.८८ प्रतिशतको गिरावट देखिएको छ।

उता भारतीय लगानी रहेको नेशनल इन्स्योरेन्स भने अझै पनि ठूलो वित्तीय संकटमा देखिएको छ। यस कम्पनीको घाटा अघिल्लो वर्षको १ अर्ब १० करोड रुपैयाँबाट बढेर यस वर्ष १ अर्ब २९ करोड ६१ लाख रुपैयाँ पुगेको छ। समग्रमा तीनवटा कम्पनीले आफ्नो अवस्था सुधार गरे पनि बाँकी ११ वटा कम्पनीको मुनाफा घट्नु वा घाटा बढ्नुले निर्जीवन बीमा क्षेत्रमा व्यावसायिक चुनौती थपिएको संकेत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*